Connect with us
Kapilvast Forest

विश्व सम्पदा सूचीमा किन परेन तिलौराकोट

२०८२, २९ असार आईतवारमा प्रकाशित

कपिलवस्तु –

गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्र विश्व सम्पदामा सूचीकृत हुन असफल भएको छ ।फ्रान्सको पेरिसमा भएको युनेस्कोको ४७ औं सेसनमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्तावमाथि शुक्रबार र शनिबार दुई दिन छलफल भएपनि सूचीकृत हुन नसकेको हो ।युनेस्कोको मुख्य प्राविधिक सल्लाहकार इकोमस (इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एन्ड साइट्स) ले दिएको प्रतिवेदनका आधार सूचीकृत हुने प्रयास असफल भएको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।

विश्व सम्पदा सूचिमा राख्न गरिने छलफलको कार्यसूचीमै इकोमसले तिलौराकोटको प्रस्ताव स्थगनमा राख्ने सिफारिस गरेको र अन्य कुनै पनि मुलुकले नेपालको पक्षमा संशोधन प्रस्ताव नराखेकाले प्रस्ताव पारित हुन नसकेको राईले बताए । ‘तीन वर्षदेखिको अथक प्रयास र लाखौं रकम खर्च गरेकाले सूचिकृत हुनेमा आशावादी थियौं तर असफल भयौं’ राईले भने ।

‘कूटनीति कमजोर’

स्रोतका अनुसार नेपालको कूटनीतिक पहल कमजोर हुँदा तिलौराकोट विश्व सम्पदा सूचिमा सूचिकृत हुन नसकेको हो  ।इकोमसको नकारात्मक सिफारिसमा भारतको अप्रत्यक्ष दबाब पनि एक कारण हुनसक्ने अनुमान गरिएको छ ।युनेस्कोमा भारत प्रभावशाली राष्ट्रका रूपमा छ । भारतले उत्तर प्रदेशको सिद्धार्थनगरस्थित पिपरहवा र गनवरियालाई शाक्यहरूको राजधाजी दाबी गर्दै आएको छ ।

तिलौराकोट (प्राचीन कपिलवस्तु) लाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन र बुद्ध जन्मस्थल लुम्बिनीलाई सम्भावित खतरामा राख्न नहुने विषयमा हुने छलफलमा भाग लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, कोषका वरिष्ठ निर्देशक राई लगायतको टोली फ्रान्सको राजधानी पेरिस गएको थियो ।पेरिसमा भएको ४७ औं सेशनले बुद्ध जन्मस्थल लुम्बिनीलाई एक वर्षका लागि खतराको सूचिबाट भने हटाएको छ ।

तिलौराकोटका सन्दर्भमा सम्पदा कूटनीतिमा कमजोर देखिँदा लामो समयदेखिको प्रयास असफल भएको लुम्बिनी विकास कोष सदस्य सचिव सानुराजा शाक्यको तर्क छ ।तिलौराकोटमा ११ वर्षदेखि भइरहेको उत्खनन्, अन्वेषणले पुरातात्विक सामग्री र भग्नावशेष इसा पूर्व आठौं शताब्दीसम्मका रहेको पुष्टि भएको कोषका पुरातत्वविद् हिमाल उप्रेतीले बताए । ‘तिलौराकोट दक्षिण एशियामा सबैभन्दा ठूलो खुला संग्रहालय, सुरक्षित, सग्लो र महत्वपूर्ण ऐतिहासिक सम्पदा स्थल हो’ उप्रेती भन्छन् ।

युनेस्कोले तिलौराकोटलाई सन् १९९६ मा सम्भावित विश्व सम्पदा सूचिमा राखेको थियो । नेपाल सरकारले २०७८/७९ को नीति तथा कार्यक्रममार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने विषय उल्लेख गरेको थियो ।विश्व सम्पदा समितिको ४५ औं बैठकमा तिलौराकोट कपिलवस्तु सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम समेत गरिएको थियो ।

यस पटक विश्वभरबाट प्रस्ताव भएका ३२ साइटलाई नोमिनेसन गर्ने/नगर्ने विषयमा छलफल भैरहेको छ । जसमध्ये २४ वटा सांस्कृतिक, ७ वटा प्राकृतिक र एउटा मिक्स साइट छ । ६ जुलाईबाट सुरु भएको सेसन १६ जुलाईसम्म हुनेछ ।२०१४ सालदेखि तिलौराकोटको उत्खनन् तथा अन्वेषण भइरहेको छ । तिलौराकोट दरबार बुद्धकालीन समयभन्दा तीन सय वर्षअघि नै व्यवस्थित सहर रहेको तथ्य भेटिएको उत्खननमा सहभागी पुरातत्वविद्हरु बताउँछन् । बुद्धको जन्म २५ सय वर्षअघि भएको इतिहासमा छ । तर त्यसअघि नै तिलौराकोटमा मानव सभ्यता र सहर रहेको पुष्टि भएको पुरातत्वविद्को भनाइ छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकता अनुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्तरूपमा स्थानीयस्तरको छलफल गरेसँगै उक्त कामको थालनी भएको थियो । तिलौराकोटको मुख्य क्षेत्र (कोरजोन) करिब १४० बिघा क्षेत्रफल छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu