जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्तासँगै राष्ट्रिय सभामा अल्पमतमा सरकार
काठमाडौं –
सत्ता साझेदार दल जनता समाजवादी पार्टी, (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै आएको जसपा नेपालको बुधबार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिनेबारे निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको थियो । सोही बमोजिम संसदीय दलको बैठकबाट आज समर्थन फिर्ताको औपचारिक निर्णय गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले समर्थन फिर्ता लिएसँगै सत्ता साझेदार दल संख्या अब ६ वटामा झरेको छ ।गत वर्ष ३१ असारमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुँदा नेपाली कांग्रेस, नेकपा एमाले सहित ७ राजनीतिक दलका १८८ जनाले समर्थन दिएका थियो ।यसलाई देखाएर प्रधानमन्त्री ओलीले आफूसँग खरानीको डल्लो नभएर प्रतिनिधि सभाको दुई तिहाइ रहेको बताउने गरेका थिए ।
राष्ट्रिय सभामा त सत्तारुढ दलहरु अब अल्पमतमै पर्नेछ । ३ सांसद रहेको जसपा नेपालको साथ नपाउँदा यसअघि नै राष्ट्रिय सभामा सत्तारुढ अल्पमतमा परेको थियो ।५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेससँग १६ र एमालेसँग ११ सिट मात्र छ । सरकारमा रहेको अर्को दल लोसपासँग एक सिट छ । यो संख्या जोड्दा २८ मात्र हुन्छ ।
तर विपक्षमा भने बहुमत जुटेको छ । माओवादीसँग १७, एकीकृत समाजवादीसँग ८, जसपा नेपालसँग ३ र राष्ट्रिय जनमोर्चासँग एक सिट छ । राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले पनि एकीकृत समाजवादीमा प्रवेश गर्ने निर्णय गरेका छन् ।