कांग्रेसको शुभकामना आदानप्रदानमा पुस्तान्तरणको बहस
कपिलवस्तु, असोज ११ – नेपाली कांग्रेस शिवराज नगरसमितिले विजयादशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले पार्टीभित्र रूपान्तरण र पुस्तान्तरण अपरिहार्य भएको उल्लेख गर्दै विशेष महाधिवेशनमार्फत कांग्रेसलाई नयाँ ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।
शिवराज नगर कांग्रेसले तयार पारेको मागपत्र युवा नेता राजु खरालले प्रस्तुत गर्दै विशेष महाधिवेशन अबको विकल्प भएको प्रष्ट पारेका थिए । उक्त मागपत्रमा पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्दै नयाँ पुस्ताको नेतृत्वलाई सम्मानपूर्वक अघि सार्नुपर्ने माग समावेश गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तुका उपसभापति हुमाकान्त खनाल, सचिव प्रेमबहादुर रायमाझी, विनोद नेपाल, गोविन्द केसी, मेघराज रेग्मी, हरि पोखरेल, नारायण ज्ञवाली, देवबहादुर जिसी लगायत नेताहरूले मागपत्रलाई समर्थन गर्दै शुभकामना मन्तव्य राखेका थिए । भेलाबाट पारित सो मागपत्रलाई जिल्ला हुँदै प्रदेश र केन्द्रमा पठाउने निर्णय समेत गरिएको छ ।
नेपाली कांग्रेस शिवराज नगरसभापति मधुसुदन पोखरेलको अध्यक्षता, उपसभापति गुरुप्रसाद यादवको स्वागत मन्तव्य र सचिव विष्णु पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।