शिवराज–३ पन्चायन भगवती मन्दिर खरेन्द्रपुर मा द्वादसीका दिन सराय नाच निकालिदै
पुनहरी घिमिरे कपिलवस्तु –
कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुर देउरालिटोलस्थित पन्चायन भगवती मन्दिरले यस वर्षदेखि द्वादसीका दिन विशेष सराय नाच निकाल्ने भएको छ। परम्परागत संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले मन्दिर व्यवस्थापन समितिले स्थानीय सरोकारवालासँगको समन्वयमा यो निर्णय गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी गराउनुभएको छ ।
हरेक वर्ष दसैंलगत्तै जिल्लाका विभिन्न दुर्गा मन्दिरहरूमा सराय नाच देखाउने परम्परा रहँदै आएको छ। तर खरेन्द्रपुरस्थित पन्चायन भगवती मन्दिरमा भने औपचारिक रूपमा द्वादसीको दिनमा यो नाच सुरु गर्न लागिएको समितिका पदाधिकारीहरुले जानकारी दिएका छन्। सराय नाचलाई यहाँका भक्तजनले धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक गौरवको प्रतीकका रूपमा लिने गरेको स्थानीय रामप्रसाद भुसालले जानकारी गराउनुभएको छ।
समितिका अनुसार नाचमा स्थानीय कलाकार, युवायुवती र बुढापाकाको सक्रिय सहभागिता रहनेछ। यस अवसरमा भक्तजनले पूजाआजा, भजनकीर्तन र सामूहिक भेटघाट पनि गर्ने कार्यक्रम छ। मन्दिर क्षेत्रमा बढ्दो चहलपहल र तयारीले गाउँमा पर्वको उत्साह थपिएको छ।
स्थानीय तथा मन्दिर व्यावस्थापन समिती सदस्य बलराम मरासिनीले सराय नाचलाई परम्परा र संस्कृतिको धरोहरका रूपमा निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन्। मन्दिर समितिले यसलाई हरेक वर्ष निरन्तरता दिने समेत निर्णय गरेको छ।