राष्ट्रिय जनमोर्चाले राजनीतिक गतिविधि बढाउदैं
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ स्थित मर्जातपुरमा आज राष्ट्रिय जनमोर्चाले राजनीतिक गतिविधि तथा भेदघाट कार्यक्रम सम्पन्न गर्नुका साथै ११ सदस्यीय गाउँ कमिटी गठन गरेको छ ।
कार्यक्रमको अध्यक्षता जगई कोरीले गर्नुभएको थियो भने राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्ला सचिव केर सिंह “अदै” प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अदैले विजया दशमी, शुभ दीपावली र छठ पर्व २०८२ को पावन अवसरमा शुभकामना व्यक्त गर्दै भन्नुभयो, “धनी वर्गको देखासिकी नगरी सरल र सहज तरिकाले चाडपर्व मनाउनुपर्छ, जे छ त्यसैमा रमाउनुपर्छ ।”
उहाँले देशको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रिय जनमोर्चाको संघर्षपूर्ण इतिहासबारे प्रकाश पार्दै देश प्रतिगमनको दिशातिर अघि बढिरहेको धारणा व्यक्त गर्नुभयो । साथै, वर्तमान समस्याबाट पार पाउन राष्ट्रिय जनमोर्चाको नीति र कार्यक्रम नै विकल्प भएको स्पष्ट गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य रामबहादुर चमारले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अध्यक्ष जगई कोरीको संयोजनमा ११ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ । गठन गरिएको समितिको संरचना यसप्रकार छ:
उपाध्यक्ष: लक्ष्मी कोरी
सचिव: हेमन्त कुमार यादव
सह-सचिव: बालिसी कोरी
कोषाध्यक्ष: मिना कोरी
सदस्यहरू: अर्नजी कोहर, सन्त नारायण कुर्मी, लीलावती कुर्मी, सावित्री कोरी, गुर्मावती कुर्मी, अयोध्या कोरी
नवगठित समितिले तत्काल सदस्यता अभियान सञ्चालन गर्ने र आउँदो मंसिर महिनामा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी २७ जना नयाँ व्यक्तिहरूले राष्ट्रिय जनमोर्चाको सदस्यता ग्रहण गरेका छन् । नयाँ सदस्यहरूलाई सचिव अदैले औपचारिक रूपमा सदस्यता प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन नवगठित सचिव हेमन्त कुमार यादवले गर्नुभएको थियो।