भारतबाट अवैध रुपमा ल्याइएका खेलौना कपिलवस्तुमा बरामद
कपिलवस्तु–
कपिलवस्तुको इलाका प्रहरी कार्यालय महाराजगञ्जले भारतबाट बिना भन्सार लुकाइछिपाई ल्याइएका खेलौना लगायतका सामग्री बरामद गरेको छ ।
प्रहरीका अनुसार भारतको कोटिया बढनी नाका हुँदै मोटरसाइकलमा लोड गरी नेपाल भित्र्याइएका ती खेलौना बरामद गरिएको हो ।
खेलौना सहित रा ३ प ३५ १६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
स्थानीयका भनाइअनुसार भारतबाट अवैध रूपमा सामान तस्करी गर्दै आएका पप्पु नामका तस्करले प्रहरी देखेपछि मोटरसाइकल छोडेर भागेका छन् ।
इलाका प्रहरी कार्यालय महाराजगञ्जका प्रमुख वसन्त बस्नेतले बरामद गरिएको खेलौना र मोटरसाइकललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा पठाइएको जानकारी दिनुभयो ।
प्रहरीले सीमावर्ती क्षेत्रमा बिना भन्सारका सामान तस्करी नियन्त्रण गर्न निगरानी अझै कडाइका साथ गर्ने जनाएको छ ।