Connect with us
Kapilvast Forest

एक अर्ब २५ करोड राजस्व उठाउन भैरहवामा अभियान

२०८२, २३ पुष बुधबारमा प्रकाशित

रूपन्देही –  
आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व संकलनका लागि अभियान सञ्चालन गरेको छ। कार्यालयअन्तर्गत रहेका करदाताले बुझाउनुपर्ने बाँकी–बक्यौता असुली गर्ने ध्येयले अभियान सञ्चालन गरिएको हो।कार्यालयले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क नबुझाएका करदातासम्म पुगेर राजस्व दाखिलाका लागि अभियान सञ्चालन गरेको हो। कार्यालयका अनुसार दाखिला हुन बाँकी एक अर्ब २५ करोड राजस्व संकलनका लागि यो प्रयास थालिएको हो।

२०८२ कात्तिकदेखि यो अभियान सञ्चालन गरिएको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले बताए। ‘शुरुमा करदाताको कारोबारको ठेगानामा राजस्व तथा कर विवरण बुझाउन अनुरोध गर्दै पत्राचार गरिएको छ। त्यसपछि उनीहरूको घर–ठेगानामा पत्र पठाएका छौँ’, उनले भने, ‘ती सबै करदाताको मोबाइलमा म्यासेज (सन्देश) पनि पठाएका छौँ।’ प्रत्येक करदातालाई टेलिफोनमार्फत पनि सम्पर्क गरिएको छ। कार्यालयले स्रोत व्यक्ति (फोकल पर्सन) तोकेरै ‘फलोअप’ गरेको उनले जानकारी दिए।त्यस्तै आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि मूल्य अभिवृद्धि कर, आय विवरण र अन्तःशुल्क विवरण नबुझाउने करदातालाई पनि विवरण बुझाउन अनुरोध गर्दै सूचना पठाएको छ। प्रमुख कर अधिकृत पोख्रेलका अनुसार यसका लागि तीन कर्मचारीलाई ‘डेडिकेटेड’ रूपमा खटाइएको छ।
‘प्रत्येक करदातालाई एसएमएस र टेलिफोनमार्फत जानकारी गराइएको छ, त्यस्तै सम्बन्धित पालिका, वडा कार्यालयमा करदाताको विवरण बुझाउन अनुरोध गर्दै सूचना टाँस गरिएको छ। यसका साथै स्थानीय तहका फेसबुक पेज र आन्तरिक राजस्व कार्यालयको फेसबुक पेजमा पनि यो सूचना राखिएको छ। करदातालाई कार्यालयसम्म आउनका लागि जानकारी गराइदिन स्थानीय तहका जनप्रतिनिधिलाई पनि आग्रह गरेको उनले बताए।त्यस्तै, कार्यालय प्रमुखहरूको मासिक बैठकमार्फत पनि यो सूचना प्रवाह गरिदिन आग्रह गरिएको छ। हालसम्म मूल्य अभिवृद्धि कर विवरण नबुझाउने करदाताको सङ्ख्या तीन हजार ६०० रहेको प्रमुख कर अधिकृत पोख्रेलले बताए। २०८२ पुस मसान्तभित्र मूल्य अभिवृद्धि विवरण, मूल्य अभिवृद्धि कर र लाग्ने २५ प्रतिशत ब्याज बुझाएमा अन्य जरिवाना र थप दस्तुर (कर र ब्याजको २५ प्रतिशत) सबै मिनाहा हुने कर अधिकृत गौरव पाण्डेले बताए। अन्तःशुल्क र विलम्ब शुल्कको ५० प्रतिशत बुझाएमा बाँकी विलम्ब शुल्क र जरिवाना पनि मिनाहा हुने कर अधिकृत पाण्डेले जानकारी दिए। पुस मसान्तभित्रमा विवरण बुझाएर तथा राजस्व दाखिला गरी छुटको लाभ लिन उनले अनुरोध गरे।

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा आन्तरिक राजस्व विभागले पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार संकलन गर्ने लक्ष्य दिएकामा कार्यालयले लक्ष्यको १२१.१ प्रतिशत अर्थात् ६ अर्ब ५० करोड ३२ लाख सात हजार संकलन गरेको हो।कार्यालयका अनुसार गत आव २०८१/८२ को सोही अवधिमा कार्यालयले चार अर्ब ५१ करोड आठ लाख ४७ हजार राजस्व संकलन गरेको थियो। गत वर्षको सोही अवधिको तुलना गर्दा अहिले राजस्व संकलन ४४.२ प्रतिशतले वृद्धि भएको प्रमुख कर अधिकृत पोख्रेलले जानकारी दिए।

उनका अनुसार अर्थतन्त्रका परिसूचकमा देखिएको सुधार, आर्थिक गतिविधिमा भएको वृद्धि, नियमित, प्रभावकारी र क्षेत्रगत बजार अनुगमन, वक्यौता असुलीमा तीव्रता, बजेटमा व्यवस्था भएका छुट सुविधाको कार्यान्वयन, परिणाममुखी र प्रभावकारी करदाता शिक्षा, करदातामैत्री सेवा प्रवाह र नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गर्ने र खरिद गर्नेमाथिको अनुसन्धान तथा कर निर्धारण र कर परिपालनामा देखिएको करदाताको उत्साहका कारण कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो। आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्रअन्तर्गत ८२ हजारभन्दा बढी व्यावसायिक करदाता छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu