जेन–जी आन्दोलनमा उत्पादनतर्फ थप १३ अर्ब ८७ करोड नोक्सानी
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा वस्तु तथा सेवाको उत्पादनतर्फ १३ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ थप क्षति भएको देखिएको छ । आन्दोलनको क्षति मूल्यांकन तथा पुनर्निर्माण योजना बनाउन राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा गठित समितिको प्रतिवेदनअनुसार आन्दोलनका क्रममा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँबराबरको भौतिक क्षति भएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्तासमेत रहेका समितिका सदस्य ढुण्डिराज लामिछानेले उत्पादनतर्फ थप १३ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ क्षति भएको बताए । ‘आन्दोलनका क्रममा भौतिक सम्पत्तितर्फ ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ क्षति भएको छ । त्योबाहेक उत्पादनतर्फ थप १३ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ क्षति भएको छ,’ उनले बताए । यो दुई जोड गर्दा आन्दोलनको क्षति रकम ९८ अर्ब ३३ करोड ३३ लाख रुपैयाँ हुनेछ ।
प्रतिवेदनअनुसार ८० निजी प्रतिष्ठानमा १३ अर्ब ६९ करोड १४ लाख रुपैयाँबराबरको उत्पादनमा क्षति भएको छ । यसैगरी १७ घरपरिवारको १८ करोड ३७ लाख रुपैयाँ र २० सामुदायिक क्षेत्रमा पाँच लाख रुपैयाँबराबरको उत्पादनमा क्षति भएको छ । आन्दोलनका क्रममा वस्तु तथा सेवा उत्पादन गर्ने पाँच सय १९ वटा संस्था प्रभावित भएका थिए । त्यसमध्ये एक सय १७ वटा संस्थाको उत्पादन तथा सेवा प्रभावित भएको देखिन्छ । त्यसमा ४९ वटा संस्थाको उत्पादन बन्द भएको छ । त्यसमा निजी क्षेत्रको ४२, घरपरिवारको तीन र सामुदायिक क्षेत्रको चार संस्थाको उत्पादन पूर्ण रूपमा बन्द भएको प्रतिवेदनमा उल्लेख छ ।
व्यापार क्षेत्रको उत्पादनमा
पाँच अर्ब १५ करोड नोक्सानी
प्रतिवेदनअनुसार व्यापार क्षेत्रको उत्पादनमा पाँच अर्ब १५ करोड ९३ लाख रुपैयाँ क्षति भएको छ । विभिन्न २९ संंस्थामा सोबराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । भाटभाटेनी सुपरमार्केटलगायतमा भएको क्षतिको विवरण यसमा छ । यद्यपि, भाटभाटेनीमा भएको सबैखाले क्षति यसमा समावेश नभएको बताइएको छ ।
होटेल तथा रेस्टुरेन्टको उत्पादनमा पाँच अर्ब आठ करोड ७४ लाख नोक्सानी
प्रतिवेदनअनुसार आन्दोलनका क्रममा होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा पाँच अर्ब आठ करोड ७४ लाखबराबरको उत्पादनमा नोक्सानी पुगेको छ । विभिन्न १८ वटा होटेल तथा रेस्टुरेन्टको उत्पादनमा सोबराबरको नोक्सानी पुगेको हो । आन्दोलनका कारण ह्यात, हिल्टनलगायतका होटेल बन्द भएका छन् । प्रतिवेदनअनुसार आठवटा होटेल तथा रेस्टुरेन्ट बन्द भएका छन् ।
अटो व्यापारको उत्पादनमा एक अर्ब ६३ करोड नोक्सानी
प्रतिवेदनअनुसार मोटर तथा मोटरसाइकल व्यापारको उत्पादनमा एक अर्ब ६३ करोड ५० लाख रुपैयाँ नोक्सानी भएको छ । विभिन्न तीनवटा संस्थामा सोबराबरको नोक्सानी भएको हो ।
औद्योगिक उत्पादनमा एक अर्ब २४ करोड क्षति
विभिन्न औद्योगिक प्रतिष्ठानमा भने एक अर्ब २४ करोड दुई लाख रुपैयाँबराबरको नोक्सानी भएको छ । विभिन्न १३ उद्योगको उत्पादनमा सोबराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
अन्य क्षेत्रका उत्पादनमा कति नोक्सानी ?
प्रतिवेदनअनुसार निजी आवासको १८ करोड ३७ लाख रुपैयाँ, सरकारी निकायको १४ करोड ४७ लाख रुपैयाँ, निजीको २७ करोड ५५ लाख रुपैयाँ, गैरसरकारीको पाँच लाख रुपैयाँ र अन्यको १४ करोड ९२ लाख रुपैयाँबराबरको उत्पादनमा नोक्सानी पुगेको छ ।
४३ निजी प्रतिष्ठानबाट २९ सय ९९ ले गुमाए रोजगारी
प्रतिवेदनअनुसार आन्दोलनका कारण निजी क्षेत्रका दुई हजार नौ सय ९९ जनाले रोजगारी गुमाएका छन् । त्यसमा पूर्ण रूपमा रोजगारी गुमाउनेको संख्या भने २३ सय ५३ छ । ‘आन्दोलनको कारण कुल ४३ निजी प्रतिष्ठानमा कार्यरत ४८ सय ५४ मध्ये २९ सय ९९ व्यक्तिहरूको रोजगारीमा प्रत्यक्ष असर परेको देखिन्छ । रोजगारी गुमाउने कुल व्यक्तिमध्ये १७ सय ९० जना पुरुष र १२ सय नौजना महिला रहेको देखिन्छ ।
पूर्ण रूपमा रोजगारी गुमाउनेको संख्या २३ सय ५३ रहेको छ भने आंशिक रूपमा रोजगारी गुमाउनेको संख्या ६ सय ४६ रहेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘पूर्ण रोजगारी गुमाउने पुरुष र महिलाको संख्या क्रमशः ६१.५ प्रतिशत र ३८.५ प्रतिशत रहेको छ भने आंशिक रूपमा रोजगारी गुमाउने पुरुष र महिलाको संख्या क्रमशः ५३.३ प्रतिशत र ४६.७ प्रतिशत रहेको छ ।’ पूर्ण रूपमा रोजगारी गुमाउने १४ सय ४६ पुरुष र नौ सय सात महिला छन् । आंशिक रोजगारी गुमाउनेमा तीन सय ४४ पुरुष र तीन सय दुई महिला छन् ।
आन्दोलनको क्षति मूल्यांकन तथा पुनर्निर्माण योजना समितिका सदस्य ढुण्डिराज लामिछाने भन्छन्– आन्दोलनका क्रममा भौतिक सम्पत्तितर्फ ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ क्षति भएको छ । त्योबाहेक उत्पादनतर्फ थप १३ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ क्षति भएको छ । यो दुई जोड गर्दा आन्दोलनको क्षति रकम ९८ अर्ब ३३ करोड ३३ लाख रुपैयाँ हुनेछ ।
उत्पादनमा धेरै नोक्सानी भएका प्रमुख क्षेत्र
- व्यापार : ५ अर्ब १५ करोड ९३ लाख रुपैयाँ
- होटेल तथा रेस्टुरेन्ट : ५ अर्ब ८ करोड ७४ लाख रुपैयाँ
- अटो व्यापार : १ अर्ब ६३ करोड ५० लाख रुपैयाँ
- उद्योग प्रतिष्ठान : १ अर्ब २४ करोड २ लाख रुपैयाँ
- निजी : २७ करोड ५५ लाख
साभार : नयाँपत्रिका