शेखर समूह गएन सर्वोच्च, १ बजे छुट्टै भेला
काठमाडौं –
नेपाली कांग्रेसभित्रको विवाद सर्वोच्च अदालत पुगेको छ । विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति भइसकेको छ ।निर्वाचन आयोगले पनि थापा नेतृत्वको कार्यसमितिलाई नै आधिकारिकता प्रदान गरेपछि शेरबहादुर देउवा समूह आज अदालत पुगेको छ । नेता पूर्णबहादुर खड्काको नेतृत्वमा कानुन व्यवसायीसहित देउवा समूह सर्वोच्च पुगेको हो ।
सर्वोच्चमा विशेष महाधिवशेनको पक्षमा नखुलेको नेता शेखर कोइराला समूहका नेताहरू भने गएका छैनन् ।कोइरालाले आफू पक्षीय नेताहरूको छुट्टै भेला बोलाएका छन् । भेला दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा हुँदैछ । ‘हामी गएका छैनौँ । अदालत जाने विषयमा मेरो व्यक्तिगत रुपमा पनि समर्थन थिएन,’ नेता सञ्जय गौतमले भने, ‘शेखर कोइरालाले १ बजेका लागि पछिल्लो समयको राजनीतिक विषयमा छलफल गर्न बोलाउनु भएको छ ।’
उता सर्वोच्च अदालतमा भने नेताहरू खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, एनपी साउदलगायत पुगेका छन् । उनीहरूले निर्वाचन आयोगको आधिकारिकतासम्बन्धी निर्णय खारेज गर्न माग गरेका छन् ।