Connect with us
Kapilvast Forest

चारदेखि दशपटकसम्म उम्मेदवार बनेर जितहार व्यहोर्दै आएका दुई दर्जनभन्दा बढी नेता अहिले पनि चुनावी मैदानमा

२०८२, ९ माघ बिहीबारमा प्रकाशित

विभिन्न दलले पटक–पटक चुनाव जित्ने दुई दर्जनभन्दा बढी पुराना अनुहारलाई आसन्न २१ फागुनको चुनावमा पनि उम्मेदवार बनाएका छन् । चारपटकभन्दा बढी उम्मेदवार बनेका उनीहरू यसपटक पनि चुनाव जित्ने गरी उम्मेदवार बनेका छन् । पटक–पटक उम्मेदवार बन्दा पनि अपराजित भएकैले उनीहरू पुन: चुनाव जित्न सकिनेमा आशावादी छन् ।

०३८ देखि हरेक चुनावमा लगातार उम्मेदवारी दिँदै आएका जसपा नेपालका नेता शरत्सिंह भण्डारीले महोत्तरी २ बाट पुन: दसौँपटक उम्मेदवारी दिएका छन् । तीमध्ये उनले अहिलेसम्म ६ पटक अपराजित यात्रा तय गरेर अबको चुनावमा जित्ने दौडमा छन् । ०३८ मा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य (रापस)को चुनाव लडेर विजयीसँगै सुरु भएको उनको संसदीय यात्रा आसन्न निर्वाचनसम्म कायम छ ।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ०४८ यताका सबै निर्वाचनमा विजयी भएका थिए । यसपटक पनि उनले उम्मेदवार बन्ने इच्छा राखेका थिए । तर कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले देउवाको चाहनामा ब्रेक लगाइदिएपछि उनी रोकिएका छन् ।

झापाबाट ०४८ पछि सातपटक चुनाव लड्दा ०६४ बाहेक ६ पटक निरन्तर जितेका एमाले अध्यक्ष केपी ओली आठौँपटक झापा ५ बाट उम्मेदवार छन् । एमालेले अगाडि सारेको प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका ओलीले आसन्न निर्वाचनमा काठमाडौं महानगरपालिका प्रमुख छाडेर झापा पुगेर सोही क्षेत्रबाट उम्मेदवारी दिएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको चुनौती सामना गर्दै छन् । शाहलाई रास्वपाले पनि प्रधानमन्त्रीकै उम्मेदवारका रूपमा अगाडि सारेको छ ।

एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पहिलोपटक ०४३ मा राष्ट्रिय पञ्चायतको चुनाव लडेयता निरन्तर लमजुङबाट उम्मेदवारी दिँदै आएका छन् । पहिलो चुनावमै पराजय व्यहोरेका उनी ०६४ र ०७९ मा प्रतिनिधिसभा र ०७४ मा प्रदेश सभामा विजयी भएका थिए । उनी गण्डकी प्रदेशको मुख्यमन्त्रीसमेत बनेका छन् । उनले अहिलेसम्म पाँचवटा चुनाव हारेका छन् । यसपटक भने गुरुङ जितको ह्याट्रिक गर्ने सोचमा छन् ।

कांग्रेसले यसपटक पनि सुनसरी ३ बाट विजय गच्छदारलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका रूपमा अघि सारेको छ । ०४८ देखि सुनसरी ३ मा निर्वाचन लड्दै आएका गच्छदार सोही क्षेत्रबाट आठौँपटक चुनाव लड्दै छन् । यसबिचमा उनले ०७९ बाहेक सबै चुनावमा जित निकालेर यसपटक दोस्रो ह्याट्रिक गर्ने योजनामा लागेका छन् । गच्छदार सुनसरी २ बाट समेत दुईपटक विजयी भएका थिए । कांग्रेसबाहेक उनले मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, जसपाबाट पनि चुनाव जितेका छन् । गच्छदारजस्तै सातपटक चुनाव लडेर आठौँपटक उम्मेदवारी दिएका राप्रपाका नेता कमल थापाले मकवानपुर १ छाडेर यसपटक काठमाडौं ५ बाट उम्मेदवारी दिएका छन् । ०५१ मा बाहेक उनी अहिलेसम्म सधैँ पराजित हुँदै आएका छन् । तैपनि उनले उम्मेदवारी दिन भने छाडेका छैनन् ।

एमालेबाटै उपाध्यक्ष विष्णुप्रसाद पौडेल ०५१ यता ६ पटक चुनाव लडेका छन् । तीमध्ये पहिलो चुनावबाहेक पाँचपटक अपराजित यात्रा तय गरेका उनले छैटौँपटक जित निकाल्ने उद्देश्यसहित रुपन्देही २ बाट उम्मेदवारी दिएका छन् । एमालेबाटै चारपटक उम्मेदवार बन्नेमा उपाध्यक्ष गोकर्ण विष्ट, लेखराज भट्ट, नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवालीलगायत पनि छन् । पोखरेल र भट्टले दुईपटक, विष्टले तीनपटक र ज्ञवालीले दुईपटक विजय हासिल गरिसकेका छन् । उनीहरू पाँचौँपटक प्रत्यक्षतर्फ उम्मेदवार छन् ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँचौँपटक उम्मेदवार बनेका छन् । पाँचैपटक क्षेत्र फेरेर उठ्ने एक मात्र नेता प्रचण्डले सबैमा जित निकालेका छन् । यद्यपि, दुईवटा क्षेत्रबाट उठ्दा उनी पराजित पनि भएका थिए । ०५६ देखि लगातार सांसद नेकपाकै सहसंयोजक माधव नेपालले ०६४ बाहेकका सबै चुनाव जितेका छन् । जसअनुसार चारपटक प्रतिनिधिसभा र एकपटक राष्ट्रिय सभा सांसद बनिसकेका उनी छैटौँपटक सांसदमा रौतहट १ बाट प्रतिस्पर्धा गरिरहेका छन् ।

नेकपाकै नेता राजेन्द्र पाण्डेले धादिङबाट ०४८ यताका ६ वटा निर्वाचन लडेकोमा ०६४ को बाहेक पाँच निर्वाचन जितेका छन् । उनी सातौँपटक पुरानै क्षेत्रबाट नेकपाका उम्मेदवार बनेका छन् । कांग्रेस नेताहरू रमेश रिजाल र सुरेन्द्रप्रसाद चौधरी पनि ०४८ देखि लगातार चुनाव लड्दै आएका छन् । यसपटक पनि रिजाल पर्सा ४ र चौधरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन् । ०४८ बाट लगातार टिकट पाएका सभापति शेरबहादुर देउवासहित धेरै नेताहरू भने यसपटक बाहिरिएका छन् । कांग्रेसबाटै सभापति गगन थापा, अनिल झा, अर्जुनप्रसाद जोशी, अभिषेकप्रताप साह, डा. चन्द्र भण्डारी, देवेन्द्रराज कँडेललगायतका नेताहरू चारपटकभन्दा बढी टिकट लिएर प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

नेकपाका नेताहरू सोमप्रसाद पाण्डे पनि ०५१ देखि पाँचपटक पाल्पाबाट उम्मेदवार बनेका छन् । तीनपटक निर्वाचित सांसद भइसकेका उनी छैटौँपटक पाल्पा २ बाट उम्मेदवार बनेका छन् । त्यस्तै, नेता वर्षमान पुन रोल्पाबाट लगातार ०६४ यता चारपटक उम्मेदवार बनेर पाँचौँपटक पुरानै क्षेत्रबाट उम्मेदवार बनेका छन् । देवेन्द्र पौडेल, बृजेशकुमार गुप्ता, गिरिराजमणि पोखरेल, महेन्द्र राय यादव, शक्तिबहादुर बस्नेत, अम्बरबहादुर थापालगायतका नेकपाका नेताहरू पनि चारपटकभन्दा बढी उम्मेदवार बनेर पाँचौँपटक मैदानमा उत्रिएका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका डा. बाबुराम भट्टराई तीनपटक गोरखाबाट सांसद बनिसकेका छन् । अघिल्लोपटक उम्मेदवार नबनेका उनी अहिलेसहित चारपटक उम्मेदवार छन् । प्रलोपा नेता जनार्दन शर्मा पश्चिम रुकुमबाट पाँचौँपटक उम्मेदवार बनेका छन् । उनले सबै चुनाव जित्दै आएका छन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगातार ०६४ यता चारपटक सांसद बनेका छन् । अहिले पनि पुरानै क्षेत्र सप्तरी ३ बाट पाँचौँपटक उम्मेदवार बनेका छन् । राजकिशोर यादव चौथोपटक सिराहा ४ बाट उम्मेदवार बनेका छन् । त्यही पार्टीका हृदयेश त्रिपाठी पश्चिम नवलपरासीबाट ०४८ बाट छैटौँपटक उम्मेदवार बनेका छन् । सर्वेन्द्रनाथ शुक्ल पनि छैटौँपटक उम्मेदवार बनेर अहिले पनि रुपन्देही ४ बाट सिफारिस भएका छन् ।

साभार: नयाँपत्रिका

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu