Connect with us
Kapilvast Forest

जनकपुरदेखि पाथीभरा हुँदै सुदूरपश्चिमसम्म बालेनको चुनावी दौडधुप

२०८२, १३ माघ सोमबारमा प्रकाशित

जनकपुरमा पहिलो सभादेखि झापामा मनोनयनसम्मका काम सकेर चुनावी प्रचारमा निस्किएका रास्वपाका वरिष्ठ नेता बालेन शाहले पूर्वीपहाडी जिल्लाका कार्यकर्ता, उम्मेदवार, मतदातासँग प्रत्यक्ष भेट मात्र गरेनन्, पाथीभरा मन्दिरको दर्शन गरे । समाजका सबै पक्षलाई जोड्ने पुल बन्न चाहेका बालेन अब पश्चिम नेपालका जिल्लाहरूमा पनि अभियान चलाउँदै छन् । ठुला सभाविनै मतदातासँग जोडिने उनको रणनीति देखिएको छ ।

झापा ५ मा एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले सकेसम्म धेरै जिल्ला पुगेर चुनावी अभियानमा जोडिने रणनीति बनाएका छन् । पहिलो चरणमा पूर्वी नेपालको यात्रा सकाएका बालेन सोमबारदेखि सुदूरपश्चिम यात्रामा निस्किँदै छन् । आइतबार उनले बागमती प्रदेशभरका रास्वपा उम्मेदवारसँग पनि सामूहिक छलफल गरेका छन् ।

बालेनका स्वकीय सचिव एवं अछाम २ का उम्मेदवार भूपदेव शाहले उम्मेदवार, कार्यकर्ता र शुभेच्छुक भेटघाटका लागि भावी प्रधानमन्त्रीका उम्मेदवार शाह सुदूरपश्चिम भ्रमणमा निस्किन लागेको बताए । ‘सुदूरपश्चिमका जिल्लाहरूमा भेटघाट हो । सबै जिल्ला जाने योजनामै छ,’ उनले भने । स्वकीय सचिव शाहले बालेन सोमबार काठमाडौंबाट सुदूरपश्चिमका लागि प्रस्थान गर्ने बताए । ‘बाँके–बर्दिया हुँदै कैलाली–कञ्चनपुरबाट डडेलधुरा जान्छौँ । त्यहाँबाट अछाम पुग्छौँ,’ उनले भने, ‘भावी प्रधानमन्त्रीका उम्मेदवार बालेनको टोली बिहान काठमाडौंबाट हिँड्छ । सकेसम्म सबै जिल्ला पुग्ने तयारी छ ।’

१३ पुसमा रास्वपासँग सातबुँदे सहमति गरेर संसदीय राजनीतिमा होमिएका बालेनले ४ माघमा काठमाडौंको मेयर पदबाट राजीनामा दिएका थिए । त्यसपछि ५ माघमा जनकपुर गएर स्थानीय मैथिली भाषामा पहिलो सार्वजनिक सम्बोधन गरेका थिए । २१ फागुनको निर्वाचनका लागि यो उनको पहिलो चुनावी कार्यक्रम थियो ।

६ माघमा झापा ५ पुगेर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका बालेनले कार्यकर्ता, शुभेच्छुक र पार्टीका उम्मेदवारसँग आक्रामक हिसाबले अन्तत्र्रिmया थालेका थिए । ७ माघमा बालेनले झापा क्षेत्र ५ का मतदातासँग बिहानैदेखि भेटेर छलफल गरे । मोरङ ३ का रास्वपा उम्मेदवार गणेश कार्कीसँग छलफल गरे । झापा २ की उम्मेदवार एवं पूर्वउपसभामुख इन्दिरा रानामगरको घरमै पुगेर भेटे । दिनभर भेटघाटमै केन्द्रित भए ।

७ माघकै साँझ उनी इलाम पुगे र अर्को दिन ८ माघमा बिहानै पूर्वी पहाडतिर उक्लिए । बाटोमा शुभेच्छुक भेट्दै अगाडि बढे । सुरुमा पाँचथर पुगेर उनले रास्वपा उम्मेदवार महेन्द्रविक्रम थाम्सुहाङसँग फिदिम बजारमा भेट गरे । त्यहाँ कार्यकर्ता–शुभेच्छुकसँग पनि भेटेका थिए । त्यसपछि उनी इलाम फर्के । उनले त्यहाँ इलाम १ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम २ का उम्मेदवार गोकुलबहादुर राईसँग भेटेर त्यहाँको अवस्थाबारे जानकारी लिए । जनताको समस्या बुझ्न र समाधानतिर लाग्न सुझाव दिए । त्यसपछि बालेन त्यसैदिन ८ माघमै ताप्लेजुङ पुगे । रास्वपा उम्मेदवार वीरेन्द्र श्रेष्ठसँग फुङलिङ बजारमा भेट तथा छलफल गरे ।

फुङलिङबाट बालेन आफ्नो टिमसहित पैदलै पाथीभरातर्फ प्रस्थान गरे । ९ माघको बिहान पाथीभरा मुकुम्लुङमा पुगेर पूजाआजा र दर्शन गरे । दर्शनपछि जोरपोखरी पाँचथर, तेह्रथुमको संक्रान्ति बजार हुँदै म्याङलुङ प्रस्थान गरे । तेह्रथुम जाने क्रममा बाटोमा गाडी रोकेर स्थानीयसँग भेटघाट गरे । तेह्रथुम पुगेर वसन्तपुरस्थित चोलुङ पार्कको अवलोकन गरे । रास्वपा उम्मेदवार सुरेन्द्र कार्कीसँगै म्याङलुङमा म्याङलुङ देवीको दर्शन गरे ।

त्यसपछि, बालेन १० माघमा संखुवासभातिर लागे । उनले त्यहाँ रास्वपा उम्मेदवार मिङ्मा शेर्पासँग अन्तत्र्रिmया गरे । संखुवासभा पहिलोपटक आएको र भूगोलबारे प्रत्यक्ष बुझ्ने मौका पाएको प्रतिक्रिया दिए । साथै, उनले अरूलाई गाली होइन, त्यो समयमा आफ्नो काम  गरेर अगाडि बढ्न पार्टीपंक्तिलाई निर्देशन दिए ।
संखुवासभापछि बालेन धनकुटा पुगे । उनले त्यहाँका रास्वपा उम्मेदवार दिनेश भण्डारीसँग हिलेमा छलफल गरेर वस्तुस्थिति बुझे । त्यहाँबाट धरान, इटहरीमा कार्यकर्ता शुभेच्छुक भेट्दै विराटनगर आइपुगेका थिए । साँझ काठमाडौं फर्किएका थिए ।

काठमाडौं फर्केर बालेनले आइतबार बागमती 
प्रदेशभरका रास्वपा उम्मेदवारहरूसँग छलफल गरेका छन् । छलफलका लागि पार्टीका तर्फबाट संयोजन गरेका सचिवालय सदस्य गणेश पराजुलीले निर्वाचन तयारीबारे छलफल भएको बताए । ‘बागमती प्रदेशमा भएका सबै उम्मेदवारसँग तत्तत् क्षेत्रको तयारी अवस्था र सहयोगबारे छलफल भएको छ । निर्वाचन गतिविधि कसरी राम्रोसँग अगाडि बढाउने भन्ने विषयमा छलफल गर्‍र्यौँ,’ पराजुलीले भने, ‘निर्वाचन क्षेत्रमा उठाउनुपर्ने मुद्दा कस्ता हुन् भनेर पहिचान गर्ने गरी छलफल भएको छ । अधिकांश उम्मेदवार छलफलमा सहभागी हुनुभएको थियो ।’

विश्लेषक कृष्ण पोखरेलले बालेनको दौडधुपले रास्वपालाई फाइदा गर्न सक्ने भए पनि र एउटा समयमा आफ्नै क्षेत्रमा केन्द्रित हुनुपर्ने बाध्यता रहेको टिप्पणी गर्छन् । ‘झापामा मनोनयनमार्फत एउटा भाइभ्स दिएर उहाँ पूर्व पहाडी क्षेत्रमा गएर रास्वपाको पक्षमा माहोल बनाउनुभएको छ । उहाँको भ्रमणले पक्कै पनि सकारात्मक सञ्चार गरेको देखिन्छ । भोलि भ्याइँदैन भनेर उहाँलाई अरू क्षेत्रमा पहिला नै पठाउन खोजिएको पनि होला,’ उनले भने, ‘उहाँ जाँदा एउटा माहोल सिर्जना भएको छ । फेरि कुनै एउटा विन्दुमा त उहाँ आफ्नो क्षेत्रमा केन्द्रित हुनुपर्छ, किनकि प्रतिस्पर्धा कडा छ । उहाँको चुनावी रणनीतिअनुसारको प्लान होला नै ।’

झापा ५ मा घरदैलोमा व्यस्त बालेनपत्नी सविना
बालेन काठमाडौं फर्किंदा उनकी पत्नी सविना काफ्ले घरदैलोको लागि झापा ५ पुगेकी छिन् । चुनाव प्रचार सचिवालय र रास्वपाका नेताहरूले घरदैलो गर्ने बालेनको सचिवालयले जनाएको छ ।

सभापति र वरिष्ठ नेता सकेसम्म धेरै  ठाउँमा हिँड्नुपर्छ भन्ने अन्डरस्ट्यान्डिङ छ
शिशिर खनाल, रास्वपा नेता

सभापति र वरिष्ठ नेता सकेसम्म धेरै ठाउँमा हिँड्नुपर्छ भन्ने अन्डरस्ट्यान्डिङ छ । जति धेरै जिल्लामा पुग्न सकिन्छ त्यति नै मतमा सहयोग पुग्छ भन्ने हाम्रो बुझाइ छ । पूर्वीपहाडको उहाँको भ्रमणले माहोल सिर्जना गर्न मद्दत गरेको पाएका छौँ । बिस्तारै अरू प्रदेशका जिल्लाहरूमा पनि पुग्ने कार्यक्रम छ ।

भोलि भ्याइँदैन भनेर उहाँलाई अरू क्षेत्रमा पहिला नै पठाउन खोजिएको पनि होला
कृष्ण पोखरेल, विश्लेषक 

झापामा मनोनयनमार्फत एउटा भाइभ्स दिएर उहाँ पूर्वपहाडी क्षेत्रमा गएर रास्वपाको पक्षमा माहोल बनाउनुभएको छ । उहाँको भ्रमणले पक्कै पनि सकारात्मक सञ्चार गरेको देखिन्छ । भोलि भ्याइँदैन भनेर उहाँलाई अरू क्षेत्रमा पहिला नै पठाउन खोजिएको पनि होला । उहाँ जाँदा एउटा माहोल सिर्जना भएको छ । फेरि कुनै एउटा विन्दुमा त उहाँ आफ्नो क्षेत्रमा केन्द्रित हुनुपर्छ, किनकि प्रतिस्पर्धा कडा छ । उहाँको चुनावी रणनीतिअनुसारको प्लान होला नै ।

साभार : नयाँपत्रिका

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu