Connect with us
Kapilvast Forest

राष्ट्रिय सभामा जित्यो कांग्रेस–एमाले गठबन्धनले

२०८२, १३ माघ सोमबारमा प्रकाशित

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमालेको गठबन्धनले जितेको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले एमालेसँग गरेको गठबन्धनलाई नवनिर्वाचित सभापति गगन थापाले निरन्तरता दिएका थिए । गठबन्धनकै आधारमा आइतबारको निर्वाचनमा नतिजा आएको छ ।कांग्रेसले नौ, एमालेले आठ र जसपा नेपालले एक सिट पाउने गरी देउवाले ओलीसँग सहमति गरेका थिए । त्यसपछि कांग्रेस विशेष महाधिवेशनबाट देउवाको ठाउँमा थापा नेतृत्वमा आए पनि पुरानै निर्णयअनुसार गठबन्धनलाई निरन्तरता दिए ।

कार्यकाल सकिन लागेका १८ सिटमा आइतबार भएको निर्वाचनमा नौ सिट जितेसँगै कांग्रेस राष्ट्रिय सभामा कुल २५ सिटसहित सबैभन्दा ठुलो दलमा पक्का भएको छ । हाल राष्ट्रिय सभामा पहिलो दलको हैसियतमा रहेको नेकपा भने दोस्रो नम्बरमा झरेको छ । कांग्रेस, एमाले र जसपाको गठबन्धनविरुद्ध एक्लै चुनाव लडेको नेकपाले एक सिट पनि जितेन । हाल नेकपाले आफूसँग रहेका २६ सिटमध्ये (माओवादी १८ र एकीकृत समाजवादी आठ) आठ सिट गुमाएको हो । एमालेले ११ सिट कायमै राखेर तेस्रो स्थान सुरक्षित गरेको छ । गठबन्धनअनुसार आइतबार एमालेले आठ सिट जितेको छ । त्यस्तै, तीन सदस्यसहित जसपा नेपाल चौथो दल बनेको छ भने राष्ट्रिय जनमोर्चाको एक सदस्य कायम छन् ।

हाल कायम १९ सांसदको कार्यकाल २० फागुनदेखि सकिन लागेकाले ती पदमा आइतबार निर्वाचन भएको हो । कांग्रेसका नौ, एमालेका आठ र जसपाका एक निर्वाचित भएपछि अब एक सांसद मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार कांग्रेसबाट सुनीलबहादुर थापा, धर्मेन्द्र पासवान, रञ्जित कर्ण, गीता देवकोटा, जगत तिमिल्सिना, वासुदेव घिमिरे, चन्द्रबहादुर केसी, ललितजंग शाही र खम्मबहादुर खाती निर्वाचित भएका छन् । त्यस्तै, एमालेबाट रोशनी मेचे, सोमनाथ पोर्तेल, रेखाकुमारी झा, प्रेमप्रसाद दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मीनासिंह रखाल, लीलाकुमारी भण्डारी निर्वाचित भएका छन् भने जसपा नेपालबाट महन्थ ठाकुर निर्वाचित भएको भट्टराईले बताए ।

६ वर्षे पदावधि हुने ५९ सदस्यीय राष्ट्रिय सभाको  एकतिहाइ सदस्यको निर्वाचन प्रत्येक दुई वर्षमा हुने संवैधानिक व्यवस्था छ । पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभा सदस्य चुन्न प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ हुन्छ । आयोगका अनुसार प्रदेश सभा सदस्य ५२९ र पालिका प्रमुख/उपप्रमुख १,४८२ गरी २,०११ मतदाता रहेकोमा आइतबार १,९२४ जना अर्थात् ९५.६८ प्रतिशतले मतदान गरेका छन् । प्रदेश सभातर्फ ३१ सदस्य र पालिकातर्फ ५६ जना मतदानमा अनुपस्थित रहे । कुल ८७ जनाले मतदानमा भाग लिएनन् ।

कार्यकाल सकिन लागेका १८ सिटमा कांग्रेसका ९, एमालेका ८ र जसपाका १ निर्वाचित
राष्ट्रिय सभामा अब कांग्रेस पहिलो दल
कांग्रेस : २५, नेकपा : १८,
एमाले : ११, जसपा नेपाल : ३, जनमोर्चा : १, मनोनीत : १

साभार : नयाँपत्रिका

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu