सुदूरपश्चिम दौडाहामा बालेन, एकै दिन पुगे आठ निर्वाचन क्षेत्र
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेन चुनावी प्रचारका क्रममा सुदूरपश्चिम आइपुगेका छन् । मंगलबार बिहान बर्दियाबाट कैलाली आइपुगेका उनी एकै दिन कैलाली, कञ्चनपुरका आठवटै निर्वाचन क्षेत्र पुगेका छन् । रास्वपा उम्मेदवारका सम्पर्क कार्यालयहरू पुगेर उनले उम्मेदवारसँग भेटघाट गरे ।
उनले मंगलबार बिहान टीकापुरस्थित सम्पर्क कार्यालयमा रास्वपाबाट कैलाली १ का उम्मेदवार कोमल ज्ञवालीसहित नेताहरूसँग भेटे । टीकापुरबाट बालेन सिधै लम्की पुगे । लम्की बजारमा करिब एक–दुई मिनेट रोकेर समर्थकलाई गाडीबाटै अभिवादन गर्दै अघि बढेका बालेन लम्कीकै भल्कामा रहेको रास्वपा क्षेत्र नम्बर २ का उम्मेदवारको सम्पर्क कार्यालय पुगे र उम्मेदवारसँग फोटो खिचाए । त्यहाँ पनि उनी धेरै रोकिएनन् । यो क्षेत्रबाट बालेननिकट युवा अभियन्ता केपी खनाललाई रास्वपाले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । बालेन आउने थाहा पाएपछि बौनियामा पनि रास्वपाका कार्यकर्ता र समर्थक जम्मा भएका थिए, तर त्यहाँ बालेन रोकिएनन् । समन्वयको कमीका कारण त्यहाँ बालेनलाई रोक्न नसकिएको रास्वपाका नेताहरूले बताएका छन् ।
बालेन आउँदा उर्लिए समर्थक
बालेन आउँदा धनगढीमा थामिनसक्नु भिड उर्लियो । भिडका कारण शाह धनगढी उत्तरबेहडीस्थित यो क्षेत्रका उम्मेदवारको सम्पर्क कार्यालय छिर्न सकेनन् । ‘उम्मेदवारसहित हामीसँग सामान्य भेटघाट भन्ने थियो,’ रास्वपा कैलालीका सभापति महेश चौधरीले भने, ‘कार्यालयबाहिर भिड धेरै भएकाले उहाँ गाडीबाट ओर्लेर भित्र पस्न सक्ने अवस्था नै भएन ।’ बालेन आइपुग्नुअघि नै सम्पर्क कार्यालयअगाडि ठुलो संख्यामा समर्थक जम्मा भएका थिए । उनी चढेको गाडीलाई घेरेका समर्थकले उनको पक्षमा नाराबाजी गरे । बालेनले गाडीबाटै समर्थकलाई हात हल्लाएर अभिवादन गर्नुका साथै घन्टी बजाए र झन्डा फहराए । धनगढीबाट उनी पुनर्वास हुँदै कञ्चनपुर गएका थिए । कैलाली ५ बाट रास्वपाका उम्मेदवार आनन्दबहादुर चन्दलगायत नेताहरूसँग बालेनले धनगढीको घोडसुवामा भेटेका थिए ।