समाजवादको नयाँ सन्देश दिन रुकुमपूर्वबाट उम्मेदवार बनेँ : प्रचण्ड
काठमडौँ –
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुमपूर्वमा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेको बताएका छन्।शुक्रवार काठमाडौंमा आयोजित रुकुमपूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले रुकुमपूर्व नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएको उल्लेख गरे।
पूर्वी रुकुमको चुनवाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको स्मरण गर्दै उनले चुनवाङ बैठकले महिला, जनजाति, मधेसी, थारुलगायत उत्पीडित समुदायलाई पहिचानसहित अधिकार दिने उद्घोष गरेको बताए।
चुनवाङ बैठक नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय रूपमा समेत परिचित रहेको उनको भनाइ छ। संयोजक दाहालले रुकुमपूर्वकै लवाङ बैठकमा पार्टीभित्र एतिहासिक विचारधारात्मक बहस भएको पनि स्मरण गरे।हाल देश जेन-जी आन्दोलनपछि जटिल अवस्थामा रहेको उनको भनाइ छ। राष्ट्रलाई एकतावद्ध गर्ने, कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ दिने र देशभर समाजवाद निर्माणको नयाँ सन्देश प्रवाह गर्न रुकुमपूर्व उपयुक्त थलो भएको बताए। उनले सोही कारण आफू आगामी फागुन २१ गते हुने निर्वाचनको लागि रुकुमपूर्ववाट उम्मेद्वार बनेको बताए। रोल्पाबाट पहिले नै निर्वाचन लडिसकेकाले यसपटक रुकुमपूर्व रोजेको उनको भनाइ छ।