आइजीको साथी हुँ भन्दै आतंक मच्चाउदै शर्मा
काठमाडौ– माथिल्लो दर्जाका हाकिमहरुले कुरो नबुझिदिँदा फिल्डमा खटिने तल्लो दर्जाका सुरक्षाकर्मीले कहिलेकाहीं मानसिक सास्तीसमेत व्यहोर्ने गर्दछन् ।
नजिकिँदो निर्वाचन सुरक्षा,सीमा अपराध,राजस्व चुहावट नियन्त्रण तथा शान्ति सुरक्षाका लागि कृष्णनगर सीमा क्षेत्रमा खटिने नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको लागि चिफ सा”बका साथी टाउको दुखाई बनेका छन् ।
कृष्णनगर उद्योग बाणिज्य संघका विवादित अध्यक्ष रितेश शर्माले साप्ताहिक जसो सामाजिक सन्जालमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी चिफसंगैको फोटो हाल्ने गरेका छन् । आपसी सम्बन्ध र फोटो पोष्ट गर्नु सामान्य भए पनि त्यही फोटो र सम्बन्ध देखाएर कृष्णनगर मात्र होइन चन्द्रौटा,बहादुरगन्ज,गणेशपुरलगायत जिल्लाभरि नै सुरक्षा निकायमा “साथी आतंक” छ ।
स–साना झैझगडा देखि लिएर चोरी तस्करीका पक्राउ गरिएका सामानमा समेत उनले विशेष चासो राख्ने गरेको प्रहरीहरु बताउँछन् । “चिफ सा”बका साथी हुन्,केही बोल्यो कि सरुवा होइएला भन्ने डर” ड्युटीमा खटिएका एक प्रहरी हवल्दारले भने ।
कृष्णनगर क्षेत्रमा नयाँ इन्सपेक्टर वा सशस्त्र प्रहरीका अधिकारी आए भने सबैभन्दा पहिला उनीसंग भेट्नुपर्ने,उनले भनेका काममा सहजीकरण गरिदिनुपर्ने र त्यो गरेबापत चिफ साबलाई भनेर राम्रो स्थानमा पठाइदिनेसम्मको प्रलोभन शर्माले सुरक्षा निकायहरुलाई दिँदै आएको गुनासो छ ।

लाइसेन्स जाँच गर्दादेखि भन्सार छलिका सामानसमेत समात्दा पनि शर्माले छाड्न र चेकिङ्ग समेत नराख्न दबाब दिने गरेको सुरक्षाकर्मीहरुको आरोप छ ।
माथिल्लो तहसङ्ग दोस्ती छ त छ,थाहा हुने सबैले त्यो कुरा मानेकै छन् । त्यही कुरा सज्जनले राम्रो चिताएर सामाजिक सन्जालमा हाले सकारात्मक सन्देश नै जाला तर स्वार्थको द्वन्द्व गाँसिएका पात्रले घरिघरि किचिकिची गर्दै दोस्ती भजाइरहँदा पदाधिकारीको छविमा चोट पुग्नसक्छ भनेर मित्रहरूले कहिले बुझिदिने ?
सुरक्षा निकाय मात्र होइन,शर्मासंग कृष्णनगर भन्सारसहित अन्य सरकारी कार्यालयहरु समेत आजित बनेका छन् । सशस्त्रले समातेका सामानहरुको जर्बजस्ती कम मूल्यांकनमा लिलामी गराउने,भन्सार जाँचपासमा शंका लागेका गाडी जाँच गर्दा अवरोध गर्ने र व्यापारीको जत्था बोकेर भन्सार कर्मचारीलाई धम्क्याउने गरेको कर्मचारीहरुको गुनासो छ ।
२ महिनाअघि प्रतिबन्धित केरा भन्सार गराउन शर्माकै दबाबमा प्लान्ट क्वारेन्टाइन र भन्सारलाई अम्बाको जाँचपास गराइएको थियो । जुन राजस्वले थानकोटमा समात्यो ।
उद्योग बाणिज्य संघले भारत निकासी गर्ने प्लाईउडमा दिने सर्टिफिकेट अफ ओरिजिनमा तोकिएभन्दा बढी रकम लिएका र नक्कली रसिद प्रयोग गरेका उनले केही दिनअघि गोलघर चोकमै प्रहरीले हतियार तस्करी र गाई तस्करी गराइरहेको खुलेआम आरोप लगाइरहेका थिए ।
साम्प्रदायिक घटनामा संवेदनशील मानिएको सो क्षेत्रमा केही दिनअघि बंगलादेशको घटनाको विरोध हुँदा मुस्लिम विरोधी अभिव्यक्तिसमेत दिएर विवादित बनेका थिए ।
पुस २८ गते नेपाल प्रहरीका आइजी दानबहादुर कार्की र सशस्त्र प्रहरी आइजी राजु अर्याललाई पशुपति दर्शन गराएरको तस्वीर उनले सामाजिक सन्जालमा राखेपछि फेरि जिल्लाका सुरक्षाकर्मीहरु आतंकित बनेका छन् ।
“उनले चिफ साबलाई अनावश्यक,हैरानी हुने झुठा विवरण रिर्पोटिङ्ग गर्छन,दुखः हामीले पाउँछौँ”सशस्त्र प्रहरीका एक अधिकारीले बताए ।
माथिल्लो तहसङ्ग दोस्ती छ त छ,थाहा हुने सबैले त्यो कुरा मानेकै छन् । त्यही कुरा सज्जनले राम्रो चिताएर सामाजिक सन्जालमा हाले सकारात्मक सन्देश नै जाला तर स्वार्थको द्वन्द्व गाँसिएका पात्रले घरिघरि किचिकिची गर्दै दोस्ती भजाइरहँदा पदाधिकारीको छविमा चोट पुग्नसक्छ भनेर मित्रहरूले कहिले बुझिदिने ?
सभार: जनआस्था