उदयपुर सिमेन्टअगाडिबाट बालेनले भने- उद्योगहरू देशका मेरुदण्ड हुन्
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले उद्योगहरू देशको मेरुदण्ड भएको बताएका छन् ।चुनावी अभियानका क्रममा उदयपुर पुगेका शाहले उदयपुर सिमेन्ट उद्योगपरिसरमा खिचिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उद्योगहरूले रोजगारी सिर्जना, राष्ट्रिय आय वृद्धि र आर्थिक आत्मनिर्भरता हासिल गर्न निर्णायक भूमिका खेल्ने उल्लेख गरेका छन्।
उनले लेखेका छन्– उद्योगहरू देशका मेरुदण्ड हुन्। उद्योग फस्टाउँदा मात्र रोजगारी बढ्छ, आय बढ्छ र देश समृद्धितर्फ अघि बढ्छ।विशेषगरी उदयपुर सिमेन्टजस्ता राष्ट्रिय महत्त्वका उद्योगहरूलाई राज्यले केवल सञ्चालनमै सीमित नराखी संरक्षण, सुधार र प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिएका छन्। यस्तो उद्योग जोगाउन सके मात्र उत्पादनमूलक अर्थतन्त्र निर्माण हुने उनको धारणा छ।