Connect with us
Kapilvast Forest

‘युद्ध’बाट निर्वाचन मोर्चामा खटिएकी रविना

२०८२, १२ फाल्गुन मंगलवारमा प्रकाशित

कपिलवस्तु
पूर्व माओवादी लडाकु कमाण्डर रविना खान (केसर जहाँ) कपिलवस्तु–१ बाट स्वतन्त्र उम्मेदवार बनेर पैदल र लिफ्ट माग्दै चुनावी प्रचारमा जुटेकी छन्।
सशस्त्र संघर्षमा अग्रपंक्तिमा रहेकी उनी अहिले सुकुम्बासी बस्तीमा बसेर गरिब, महिला, बालबालिका र पिछडिएका समुदायका मुद्दा लिएर चुनाव लडिरहेकी छन्।
पार्टीबाट अवसर नपाएपछि निराश भए पनि उनले शून्य बजेटमा स्थानीय सहयोगमा चुनावी अभियान चलाइरहेकी छन्।
कपिलवस्तु — पर्चा–पम्पलेट राखेको कालो व्याग कुममा भिर्छिन् । एउटा हातमा ह्याण्ड माइक बोकेर गाउँ र बजारमा प्रचारप्रसार गरिरहेकी छन् । निर्वाचनको माहोलमा तामझाम र भीडभाडसहित उम्मेदवारहरु गाउँ पसरहेका बेला यहाँको एक ‘सुकुम्बासी’ बस्तीकी ३३ वर्षीया केसर जहाँ (सकिना मुस्लिम) भने पैदलै प्रचारप्रसारमा व्यस्त छिन् ।

उनी पूर्व माओवादी लडाकु कमाण्डर हुन् । जिल्लाका अन्य उम्मेदवार दलबल र गाडीमोटरमा गीत बजाउँदै डुलिरहँदा उनी भने साइकल र मोटरसाइकल चालकसित लिफट् मागेर एक गाउँदेखि अर्कोसम्म पुग्छिन् । रविना खान भनेर चिनिने उनले बिगतमा सशस्त्र युद्धमा बन्दुक र बम पड्काइन् । अहिले तिनै हात जोडेर आफूलाई मत मागिरहेकी छन् ।

तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा सहभागी उनी मुस्लिम महिला लडाकु थिइन् । युद्धमा हतियार चलाउन पोख्त उनी यसपटक ‘ब्यालेट’बाट भविष्य खोज्दैछिन् । तत्कालीन माओवादी निकट पीएलएको प्लाटुन कमाण्डरसम्म उनी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कपिलवस्तु–१ बाट स्वतन्त्र उम्मेदवार बनेकी छन् ।

मायादेवी–३ बड्की खैराटीकी उनी २०५८ मा १० वर्षको उमेरबाट तत्कालीन माओवादी सशस्त्र संघर्षमा होमिएकी थिइन् । रैथाने र ‘सम्पन्न’ परिवारकी सदस्य उनले घरमा ‘माओवादी छापामार’ को बाक्लो आउजाउ हुन थालेपछि बाल चन्चलताले डोर्‍याएर ‘लडाकु’ बनेको बताइन् । तिनै खाँन अहिले गाना–बजाना र भीडभाड बिनै चुनावी अभियानमा छन् । उनीसित सशस्त्र द्वन्द्वताकाका पुराना साथी र बस्तीका दुई चार जना अगुवाले सघाइरहेका छन् । उनीहरु पालैपालो साइकल र मोटरसाइकलमा रविनालाई गाउँ डुलाउँछन् ।

माओवादी सशस्त्र संघर्षमा होमिएपछि उनको घरसंग सम्बन्ध टुटयो । त्यसपछि घर जान पाएकी छैनिन् । परिवारले पनि उनलाई स्वीकारेको छैनन् । त्यसैले उनी वाणगंगा नगरपालिकास्थित पटना आसपासका सुकुम्बासी बस्तीमा बस्छिन् ।

माओवादी सशस्त्र संघर्षका बेला आश्रय लिएका घरमा बसेर दिन काट्दै आएकी छन् । गाउँलेलाई खेतीपाती र ज्याला मजदुरी गरेर सघाउँछिन् । सुरुमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मुस्लिम महिला तर्फ उनको नाम समानुपातिकबाट बन्द सूचीको पहिलो नम्बर राखेर निर्वाचन आयोगमा बुझाएको थियो । त्यसपछि उनलाई बधाइ पनि आउन थाल्यो । मुस्लिम महिला र निर्धनबस्तीको प्रतिनिधित्व संसदमा हुने ठानेर खुसी हुँदै सपना बुन्न थालिन् । तर, उक्त सूची संशोधनका बेला उनको नाम हटाएर अर्कैको पठाएपछि दुःखी छन् । उनको नाम काटेर नेपालगन्जकी व्यवसायी कालीमिया खातुनको नाम राखियो ।

समानुपातिकमा अवसर नमिलेपछि प्रत्यक्षतर्फ टिकट देलान भन्ने सोचेकी थिइन् । प्रत्यक्षबाट पनि बञ्चित भइन्। ‘घरबार छाडेर गरेको संघर्ष र त्यागलाई नेताले वेवास्ता गरे,’ उनले भनिन्, ‘नेताहरु बिक्री भए । नीति, आदर्श र सिद्धान्त बन्धक बने ।’ बिगतका कठिन दिन सम्झिँदा उनलाई अहिले पनि गर्व लाग्छ । मन प्रफुल्ल हुने गरेको उनले बताइन् । ‘आफ्नै हातले परिवर्तनको वेग निम्त्याएको आभास हुन्छ,’ उनले भनिन्, ‘नेताहरुले पैसासँग पद साटेपछि हामी जस्ता कार्यकर्ताको केही लाग्दो रहेनछ ।’

नवलपुरको झ्याल्टुङ डाँडास्थित माओवादी चौथौं डिभिजनमा लामो समय काम गरेकी उनलाई साथीहरुले आर्थिक सहयोग गरेर प्रचार सामग्री छपाइदिएका हुन् । उनका लागि दुई/दुई हजार प्रति चुनाव चिन्ह अंकित पोस्टर, भिजिटिङ कार्ड र नमुना मतपत्र छपाएर ल्याइदिए पछि प्रचार गरिरहेकी छन् । स्थानीय चन्द्रपाल थारुको घरमा आश्रय लिएर निर्वाचन क्षेत्रमा खटिने गरेकी छन् । घरबाट बिहान निस्किएर साँझ मात्र फर्किन्छन् । यसरी गाउँ डुलेक्रममा पुराना साथी भेटिँदा खुसी र ऊर्जा मिल्ने गरेको उनले सुनाइन् । साथीहरुको भेटमा पुराना कुराको स्मरण गर्दा हौसिने र रमाउने गरेको उनले सुनाइन् ।

माओवादी प्रवेश गरेको एक वर्षमै ‘जनमुक्ति सेना’ मा आवद्ध भएको उनले बताइन् । ‘हतियार बनाउने लडाकुको अग्र मोर्चामा थिएँ,’ उनले भनिन्, ‘११ जनाको विषेश प्राविधिक टोलीसँगैं काम गर्थे ।’ त्यसबेला बारुद पिस्ने, बम, ग्रिनेड बनाउने काम गरेको उनले सुनाइन् । आरनमा पित्तल र फलाम गलाएर गोली बनाउने काम पनि गर्थिन् । ‘लडाइका बेला जनशक्ति कम हुँदा आफै हतियार बोकेर युद्ध मोर्चामा खटिन्थे,’ उनले भनिन्, ‘बेनी, पाल्फा, सुनवल, तौलिहवा, स्याङजा र खारा जस्ता ठूला आक्रमणको अग्र मोर्चामा खटिएकी थिए ।’ सशस्त्र युद्धका त्रममा बालबाल बाँचेको बताउने उनी अहिले निर्वाचन मार्चामा खटिएर परीक्षण गरिरहेकी छन् ।

शान्ति प्रक्रिया क्रममा उनका कति सहयात्री नेपाली सेनामा समायोजन भए । स्वेच्छिक अवकास रोजेर उनी भने पार्टीको राजनीतिक फाँटमा लागिन् । तमुवान राज्य समिति सदस्य र केन्द्रिय सदस्यसम्म भइन् । पार्टी केन्द्रीय कार्यालयमा बसेर लामो समय काम गरेकी उनी एउटाले लडेर आर्जन गरेको अवसर अर्काको भागमा पुर्‍याउने नेताप्रति आक्रोश पोख्छिन् । ‘मेरो चित्त दुःखाई यही विषयमा हो, ’उनले भने, ‘समय आएपछि सबै कुरा खोल्छु ।’

जुन प्रणालीकालागि लडेकी थिइन्, त्यही प्रणालीबाट पाखा लाग्नु परेपछि आफूले नयाँ ढंगले विद्रोह गरेको उनले बताइन् । हिजो संघर्षको मैदानमा ‘प्रेसर कुकर बम’ बोक्नु परेको थियो । अहिले चुनावी मोर्चामा पनि त्यही प्रेसर कुकर चिन्ह बोकेर घरदैलोमा पुगिरहेकी छन् । सुकुम्बासी बस्तीमा ओत लागेर तिनै समुदायको उत्थान र विकासलाई मुद्दा बनाएर चुनावी प्रतिस्पर्धामा छन् । उनीसँग चुनावका लागि खर्च छैन । ‘जिरो ब्यालेन्स्बाट चुनावमा होमिएको छुँ,’ उनले भनिन्, ‘भूँइमान्छे, गरिव विपन्नको भातभान्छा गरेर उनीहरूकै खर्चमा चुनाव लडिरहेको छु ।’ पैसा नभए पनि चुनाव लड्न सकिन्छ भन्ने देखाउन आफू मैदानमा उक्रिएको बताइन् ।

रविनाले विस्तारै चुनावी माहोल बनिरहेको बताइन् । यात्राका त्रममा छुटेका साथीभाई इस्टमित्र, आफन्त, सहयोगी आज क्रमशः अभियानमा जोडिदै गएका छन् । आफूले आश्रय लिइरहेको समाज पनि एकतित्र हुँदै गएको छ । उनीहरू मत जाहेर गर्न आतुर रहेको उनले बताइन् । उनले मतदाता समक्ष ठूलो प्रतिवद्धता व्यक्त गरिरहेकी छैनन । विभिन्न ६ वटा विषयलाई प्राथमिता दिएकी छन् । मलखाद, सुकुम्बासी, महिला तथा बालबालिकाको समस्या समाधान गर्ने उनका प्रतिवद्धता छन् । निःशुल्क स्वास्थ्य, शिक्षाका लागि पहल गर्ने उनका योजना छन् । युवाकालागि सुविधायुक्त रंगशाला र गरिब तथा पछाडिपारिएका जाति, समुदायको हक अधिकारका लागि लडने उनका मुख्य कार्यसूची छन् ।

माओवादी आन्दोलनका दौरान उनको परिवारसँग सम्बन्ध टुट्यो । परिवारले उनको निर्णयमा चित्त बुझाएका थिएनन् । मुस्लिम समुदायकी उनले पढ्न पाइनन्, घर गर्न पाइनन् । उनको नीजि जिन्दगी पनि छुट्दै गयो । ०६९ मा प्रमुख जिल्ला अधिकारीले निकै प्रयास गरेर उनको नागरिकताको प्रमाणपत्र बनाइदिएका थिए ।

संघर्षका कारण आफू कहिले किशोर, युवा र जवान भए भन्ने पनि अनुभूति गर्न नपाएको उनले सुनाइन । व्यक्तिगत जीवन पार्टी र आन्दोलनको अधिनमा भए जस्तो लागे पनि गरिब विपन्नकालागि अझै पनि केही गर्न सक्छु कि भन्ने जोस, जाँगर र उत्साहले भरिएको उनले बताइन् । कपिलवस्तु–१ मा जम्मा ३४ उम्मेदवारमध्ये २ जनामात्र महिला छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu