Connect with us
Kapilvast Forest

कपिलवस्तु-३ को चुनाव निर्णायक मोडमा: प्रकाश रजौरियाको बलियो दाबी काङ्ग्रेसका अभिषेक प्रताप शाह सँगै लडाई

२०८२, १८ फाल्गुन सोमबारमा प्रकाशित

कपिलवस्तु ।
यसपटक कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को चुनाव असाधारण रूपमा रोचक मोडमा प्रवेश गरेको छ। जेन-जी आन्दोलनपछिको यो पहिलो प्रतिनिधिसभा निर्वाचन भएकाले मतदाताको सोच, प्राथमिकता र व्यवहारमा स्पष्ट परिवर्तन देखिएको राजनीतिक विश्लेषकहरूको निष्कर्ष छ। पुराना अनुहारप्रति बढ्दो प्रश्न र नयाँ विकल्पप्रति चासोले चुनावी माहोललाई निर्णायक बनाइरहेको छ। तीन मुख्य उम्मेदवार, तर समीकरण बदलिँदै यस निर्वाचन क्षेत्रमा मुख्यतः तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ- १४ वर्षसम्म लगातार सांसद रहे पनि पछिल्लो निर्वाचनमा नेकपा एमालेका मंगलप्रसाद गुप्तासँग पराजित भएका नेपाली कांग्रेसका अभिषेक प्रताप शाह, नेकपा एमालेका विरेंद्र कनौडिया, र अघिल्लो निर्वाचनमा तेस्रो स्थान हासिल गरी यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)बाट उम्मेदवार बनेका प्रकाश रजौरिया । तर पछिल्ला राजनीतिक घटनाक्रम र जनमतको प्रवृत्तिले यो प्रतिस्पर्धा अब समान तौलको नभई नयाँ दिशातर्फ मोडिँदै गएको देखिन्छ।

१४ वर्षे प्रतिनिधित्वपछि कांग्रेस उम्मेदवार दबाबमा राजनीतिक विश्लेषकहरूका अनुसार, लामो समय संसद्‌मा रहे पनिकपिलवस्तु-३ मा ठोस, दीर्घकालीन र सम्झनलायक विकास आयोजना दिन नसकेको आरोपका कारण अभिषेक प्रताप शाहको जनआधार क्रमशः खस्किँदो अवस्थामा देखिन्छ। सामाजिक सञ्जालमा खुला विरोध नदेखिए पनि, आम मतदाताबीच निराशा र विकल्प खोज्ने मनोवृत्ति बढ्दै गएको बताइन्छ।

यद्यपि, नेपाली कांग्रेसको पछिल्लो महाधिवेशनपछि देउवा समूहबाट अलग हुँदै गगन थापा समूहसँग नजिकिएको र गगन थापा सभापति बनेपछि संगठनात्मक रूपमा कांग्रेसले शाहलाई साथ दिने देखिएकाले उनी अझै पनि कमजोर प्रतिस्पर्धी भने होइनन्।

एमालेमा संगठन बलियो, तर उम्मेदवारबारे असन्तोष नेकपा एमालेका उम्मेदवार विरेंद्र कनौडिया विगतमा प्रदेशसभामा जनकी यादवसँग पराजित भइसकेका व्यक्ति हुन् ।
शिवराज नगरपालिकामा एमालेको संगठनात्मक संरचना बलियो रहे पनि, स्थानीय तहमा कनौडियाको व्यक्तिगत स्वीकार्यता कमजोर रहेको आवाज एमालेकै कार्यकर्ता तहबाट सुनिन थालेको छ। पार्टीभित्र टिकट वितरण प्रक्रियालाईलिएर असन्तोष, किसान समुदायको दूरी, र संगठनभित्र मौन असहमति रहेको चर्चा पनि चलिरहेको छ। यद्यपि, पार्टी अनुशासनका कारण ती आवाजहरू सार्वजनिक रूपमा प्रकट नभएका विश्लेषकहरू बताउँछन्। प्रकाश रजौरिया: अघिल्लो चुनावदेखि निरन्तर उकालो ग्राफ यसपटकको चुनावी समीकरणमा सबैभन्दा ठूलो परिवर्तन प्रकाश रजौरियाको राजनीतिक उभार हो। अघिल्लो निर्वाचनमा पहिलो पटक प्रतिनिधिसभा चुनाव लडेका रजौरिया, सीमित संगठनात्मक सहयोगका बाबजुद पनि अभिषेक प्रताप शाहसँग झिनो मतान्तरमा तेस्रो स्थानमा सीमित भएका थिए ।

उल्लेखनीय कुरा के हो भने, अघिल्लो निर्वाचनमा- राष्ट्रिय प्रजातन्त्र पार्टीका केही स्थानीय संरचनाबाट अपेक्षित सहयोग मिलेन, शिवराज नगरपालिकाका तत्कालीन मेयर तथा राप्रपा उम्मेदवारको प्रभावकारी समर्थन रहेन, र केही प्रभावशाली नेताहरू अन्तिम समयमा विपक्षी क्याम्पतर्फ उन्मुख भए। त्यसका बाबजुद पनि १४ हजारभन्दा बढी मत ल्याउनु रजौरियाको व्यक्तिगत जनआधार बलियो भएको संकेत मानिएको छ। अघिल्लो निर्वाचनका मतबारे फैलाइएका भ्रमको तथ्यपरक मूल्यांकन केही दिनअघि प्रकाशित समाचारमा “प्रदेशसभा ‘क’ का कृष्ण पौडेल र ‘ख’ का जनकी प्रसाद यादवको दह्रो साथका कारण रजौरियाले १३,३३२ मत ल्याएका” भन्ने दाबी गरिएको थियो।

तर स्थानीय स्रोत र चुनावी तथ्यांकले यो दाबीलाई पूर्ण रूपमा समर्थन गर्दैनन्। अघिल्लो निर्वाचनमा कृष्ण पौडेलबाट उल्लेखनीय संगठनात्मक सहयोग थिएन,
विजयनगर नगरपालिकाबाट ठूलो मात्रामा मत आएको थिएन, यद्यपि, जनकी यादवबाट नैतिक तथा राजनीतिक समर्थन भने रहेको स्थानीयहरू बताउँछन्। राजनीतिक जानकारहरूका अनुसार, जनकी यादवलाई सम्मानजनक व्यवहार गर्दै उनलाई प्रदेशस्तरमा स्थापित गर्न रजौरियाले खेलेको भूमिकाले समाजमा सकारात्मक प्रभाव पारेको थियो। यादवको टिकट खोसिँदा प्रदेशमा उम्मेदवारी दिएर कनौडियालाई पराजित गर्न उनले राजनीतिक सहयोग गरेको प्रसंग आज पनि स्मरण गरिन्छ। यसले अघिल्लो निर्वाचनको मत व्यक्तिगत जनसम्पर्क, व्यवहार र मतदाताको स्वतन्त्र निर्णयको परिणाम भएको स्पष्ट पार्छ। बालेन शाह फैक्टरपछि बढ्दो भरोसा राजनीतिक विश्लेषकहरूका अनुसार, बालेन शाहको राष्ट्रिय राजनीतिमा सक्रियता र प्रधानमन्त्रीको सम्भावित उम्मेदवारको रूपमा नाम चर्चामा आएपछि रास्वपाप्रति युवामात्र होइन, मौन मतदाताको भरोसा पनि तीव्र रूपमा बढेको देखिन्छ।

यही कारण कपिलवस्तु-३ मा देखिएको मत-उत्साहलाई सामान्य रूपमा लिन नहुने बुझाइ बलियो हुँदै गएको छ। मुस्लिम मत र निर्णायक मोड कपिलवस्तु-३ मा झण्डै १ लाख २० हजार मतदाता रहेको तथ्य राजनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ। इतिहास हेर्दा, यो मत समूह प्रायः अभिषेक प्रताप शाहविरुद्ध उभिँदै आएको र जित्ने सम्भावना देखिएको उम्मेदवारतर्फ केन्द्रित हुने प्रवृत्ति देखिएको छ।

अघिल्लो निर्वाचनमा अजय थापाको सहयोग नदेखिएपछि मुस्लिम मत मंगलप्रसाद गुप्तातर्फ गएको थियो। तर यसपटक स्रोतहरूका अनुसार मुस्लिम मतको ठूलो हिस्सा प्रकाश रजौरियातर्फ आकर्षित भएको बताइन्छ, जसले चुनावी समीकरणलाई निर्णायक रूपमा बदल्न सक्छ। कृष्णनगर-विजयनगर–शिवराज: संयुक्त प्रभाव रजौरियाका आफ्नै भाई दिपक रजौरियाले अघिल्लो स्थानीय तह निर्वाचनमा कृष्णनगरमा संगठनविहीन अवस्थामा पनि झिनो मतान्तरमा उपविजेता भएका थिए । दुई पटक मेयर भइसकेका राजत प्रताप शाह नेतृत्वको कृष्णनगर नगरपालिका आज देशकै सबैभन्दा भ्रष्ट र अविकसित नगरपालिकाको सूचीमा पर्नुले मतदाताबीच गहिरो असन्तोष देखिएको छ ।

यसपटक कृष्णनगर, विजयनगर र शिवराज तीनै नगरपालिकाबाट एकसाथ समर्थन आउने सम्भावना बढेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । शालीनता, पेशागत पृष्ठभूमि र नीति-केन्द्रित छवि सुरुमा नयाँ अनुहार भएकाले केही मतदाता अलमलमा परे पनि, प्रकाश रजौरियाको शालीन, विनम्र र स्पष्ट स्वभावका कारण अहिले जनविश्वास क्रमशः बलियो बन्दै गएको देखिन्छ।
उनी संसद् सदस्यको काम, अधिकार र जिम्मेवारीप्रति स्पष्ट रहेको, तथा नीति निर्माण, जवाफदेहीता र परिणाममुखी काममा केन्द्रित सोच राख्ने उम्मेदवारका रूपमा परिचित हुँदै गएका छन् ।
राजनीतिलाई पेशा नबनाई, आफ्नो प्राविधिक र व्यावसायिक क्षेत्रमा काम गर्दै आएका व्यक्ति भएकाले जनताका वास्तविक समस्या बुझ्ने क्षमता रहेको स्थानीय तहमा चर्चा छ। स्थिर आय-स्रोत भएकाले भ्रष्टाचार वा चन्दा-निर्भर राजनीतिबाट टाढा रहने विश्वास पनि मतदाताबीच फैलिएको छ। परिवारिक शैक्षिक पृष्ठभूमि उनकी पत्नी पविता पराजुली-अर्थशास्त्रमा M-Phil पूरा गरी PhD अध्ययनरत हुनु, परिवारस्तरमै नीति, अर्थतन्त्र र राष्ट्रनिर्माणबारे गहिरो सोच हुनु रास्वपाको policy-driven politics सँग मेल खाने विश्लेषकहरूको बुझाइ छ।

यसपटक किन बाजी मार्न सक्छन् रजौरिया ?
राजनीतिक विश्लेषकहरूले यी आधारलाई निर्णायक मान्छन्- जेन-जी आन्दोलनपछिको नयाँ मतदाता मनोविज्ञान, रास्वपाको संगठनात्मक विस्तार र ‘घण्टी’को जनमुखी प्रतीक, मुस्लिम मतको सम्भावित एकीकृत समर्थन, अघिल्लो निर्वाचनको मत आधार सुरक्षित मात्र होइन, विस्तार हुने संकेत, रजौरियाको शालीन, गैर-आक्रामक, पेशागत र नीति-केन्द्रित छवि। यी सबै कारणले गर्दा, अघिल्लो निर्वाचनमा १४,०३० मतमा सीमित रहेका प्रकाश रजौरिया यसपटक बाजी मार्ने सम्भावना बलियो देखिएको जानकारहरूको निष्कर्ष छ ।