कृष्णनगरमा नवनिर्वाचित सांसद शाहलाई अभिनन्दन
कपिलवस्तु, — कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहलाई कृष्णनगर नगरपालिकामा अभिनन्दन तथा सम्मान गरिएको छ।
कृष्णनगर नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरप्रमुख रजत प्रताप शाहको अध्यक्षतामा सांसद शाहलाई सम्मान गरिएको हो। कार्यक्रममा उपप्रमुख आरती देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा लगायतले खादा, अबिर तथा मायाको चिनो प्रदान गर्दै सांसद शाहलाई सम्मान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शाहले आफूलाई विश्वास गरेर जिताउने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै कृष्णनगर नगरपालिकाको समग्र विकासका लागि सधैँ प्रतिबद्ध रहने बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा विशेष ध्यान दिँदै नगरको विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले नवनिर्वाचित सांसद शाहबाट क्षेत्रको विकास र जनताको अपेक्षा पूरा हुने विश्वास व्यक्त गरेका थिए।