व्यापारीसँगको साँठगाँठमा भन्सारबाटै राजस्व चुहावट
राजस्व छलीमा पक्राउ परेको ट्रक गएराति नेपाल–भारत सीमाना नजिकै रहेकोे एक भन्सार कार्यालयले छाडेको छ। भन्सार बिन्दुबाटै राजस्व छली गरेर आएको भारतीय ट्रक हिजो बिहान कपिलवस्तु प्रहरीले पक्राउ गरेको थियो।
भन्सारमा घोषणा गरिएको भन्दा बढी मालवस्तु भएको प्रमाण तथा प्रतिवेदनसहित इलाका प्रहरी कार्यालय पकडीले पठाएको उक्त ट्रकलाई भन्सार कार्यालयले छाडेपछि अनेक आशंका गरिएको छ ।
भारतबाट अंगुर लिएर आएको यूपी ४१ बीटी ५३६७ नम्बरको ट्रकमा भन्सार प्रज्ञापनपत्रमा उल्लेख गरिएको भन्दा १० क्विन्टल बढी अंगुर भेटिएको थियो। त्यसपछि प्रहरीले प्रमाणसहित मर्यादपुर भन्सारलाई कारबाहीका लागि पत्राचार गरेर ट्रक बुझाएको थियो। तर, भन्सारका अधिकारीहरुले मालवस्तु ठीक रहेको जनाउँदै आफ्नो पत्र बुझ्न अस्वीकार गरेको प्रहरी स्रोतको भनाइ छ।
११ टन अंगुरलाई १० टन मात्र देखाएर वैशाख २ गते मर्यादपुर भन्सारले उक्त गाडीको जाँचपास गरेको खुलेको छ। आफूले जाँचपास गरी पठाएको मालवस्तु ठीक भएको दाबी गर्दै भन्सारले प्रहरीले नियन्त्रणमा लिई बुझाएको गाडीसमेत नबुझ्दा दुई सरकारी निकायबीच द्वन्द्वको अवस्था सिर्जना भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रिपेन्द्र सिंहले भन्सार गरिएको भन्दा बढी मालवस्तु भएको ट्रक नियन्त्रणमा लिएर मर्यादपुर भन्सारलाई बुझाइएको स्वीकार गरेका छन्। ‘हामीले तौल र अनुसन्धान गर्दा १० क्विण्टल अंगुर बढी देखिएपछि कारबाहीका लागि भन्सार पठाएका हौं, बाँकी उतै सोध्नुस्,’ उनले भने।
भन्सारमा बिहान १० बजे नै कारबाहीका लागि पठाइएको गाडी राति ११ बजे ‘कारबाही गर्न नपर्ने’ भन्दै छाडिनुले भन्सार एजेन्ट, व्यापारी र कर्मचारीबीच मिलेमतो भएको आशंका गरिएको छ। शिवांश इम्पोर्ट एक्सपोर्ट सेवाको नामबाट शिवकान्त गुप्ताले ल्याएको उक्त अंगुरमा गरिएको स्वःघोषणामा तोकिएको भन्दा १० क्विण्टल बढी मालवस्तु देखिए पनि कारबाही नगरिनुले मिलेमतोको आरोपमा थप बल पुगेको हो ।
एकातिर व्यापारीसँगको साँठगाँठमा भन्सार बिन्दुबाटै राजस्व चुहावट र तस्करी हुँदा समेत सम्बन्धित निकाय मौन रहेको आरोप लागेको छ । यसबाट राजस्व चुहावट रोक्न खटिने सुरक्षाकर्मीको मनोबल खस्कँदै गएको बताइन्छ।
उक्त भन्सारमा पछिल्लो समय तस्कर र व्यापारीहरूको प्रभाव बढेको भन्सारकै केही कर्मचारीको दाबी छ । स्थानीय भन्सार एजेन्ट र व्यापारीको मिलेमतोमा भन्सार कार्यालयको वातावरण नै दुषित बनाइएको अवस्था छ । सोही कारण पछिल्लो समय कृष्णनगरभन्दा बढी मर्यादपुर नाकाबाट फलफूल, खाद्यान्न तथा महँगा इलेक्ट्रोनिक सामानको आवागमन बढेको दाबी गरिएको छ।
यस सम्बन्धमा प्रमुख भन्सार अधिकृत किरण विष्टले प्रहरीले उजुर गरेका सबै मालवस्तुमा कारबाही गर्नैपर्ने अवस्था नहुने गरेको बताए । भने, ‘उक्त ट्रक आफैंले जाँचपास गरेको हुँदा सबै ठीक थियो ।’