निजी क्षेत्र मैत्री बजेट
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले निजी क्षेत्रका माग सम्बोधन गर्न खोजेको बताएका छन् । बजेट सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै उनले अन्तःशुल्क घटाउने निर्णय सकारात्मक रहेको बताएका हुन् ।
“लागत अत्यधिक महँगो भएको भन्दै निजी क्षेत्रले निरन्तर आवाज उठाउँदै आएको थियो, बजेटले त्यसलाई सम्बोधन गर्न खोजेको देखिन्छ,” उनले भने ।
श्रेष्ठले सरकारले कृषि क्षेत्रलाई पनि प्रोत्साहन गर्न खोजेको उल्लेख गरेका हुन् । उत्पादन वृद्धि र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ल्याइएका कार्यक्रमले सकारात्मक सन्देश दिएको उनको भनाइ छ ।
युवालाई उद्यमशीलता र रोजगारीतर्फ आकर्षित गर्ने नीति तथा कार्यक्रमसमेत बजेटमा समेटिएको भन्दै उनले यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।