शुद्धोधनमा कब्रिस्तानमा (समसान) अनियमितता
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ का स्थानीयवासीले कब्रिस्तान (समसान) व्यवस्थापनका लागि विनियोजन गरिएको बजेटमा अनियमितता भएको आरोप लगाउँदै वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
स्थानीयका अनुसार आर्थिक वर्ष २०८१/८२ अन्तर्गत वडा नम्बर १ को पतरिया टोलमा रहेका दुईवटा कब्रिस्तान व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको थियो। तर दुवै कब्रिस्तानका लागि छुट्याइएको बजेटमध्ये एउटै स्थानमा मात्र माटो पटान गरी दुवै स्थानको बजेट भुक्तानी गरिएको उनीहरूको आरोप छ।
ज्ञापनपत्रमा बजेट कार्यान्वयनका क्रममा स्थानीय समुदायलाई बेवास्ता गरिएको, गाउँसमाजसँग कुनै समन्वय नगरी काम गरिएको तथा सार्वजनिक सरोकारको विषयमा जानकारी खोज्दा सार्वजनिक स्थानमै व्यंग्य गर्ने, अपशब्द प्रयोग गर्ने र सूचना माग्दा विभिन्न बहाना बनाएर बेवास्ता गरिएको उल्लेख गरिएको छ।
स्थानीयले उक्त घटनाले वडा कार्यालयप्रति गम्भीर प्रश्न उठाएको भन्दै वास्तविकता छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न तथा सार्वजनिक खर्चको पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्।
ज्ञापनपत्रमा मोहम्मद रफिक मुसलमान, नुरुल हक शेष, मस्लाहुद्दिन फकिर, राकेश यादव, नरबहादुर सुनार, सुन्दर खनाल, पुरुषोत्तम चौधरी, सन्तार जोल्हा, इन्तिमाज अहमद, दिनेश कुमार यादव लगायतका स्थानीयवासीको हस्ताक्षर रहेको जनाइएको छ।
यस विषयमा वडा कार्यालयको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।