मायादेवी: योजना अलपत्र पारेर ठेकेदार सम्पर्क विहिन
कपिलवस्तु-
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ६ अन्तर्गत डुमरा चौकदेखि सिसवा हुँदै डुमारियासम्म सडक फराकिलो बनाउने योजना अलपत्र परेको छ।
गाउँपालिकाले बजेट विनियोजन गरी ठेक्का प्रक्रिया पूरा गरेपछि स्थानीयवासी उत्साहित बनेका थिए। तर लामो समय बितिसक्दा पनि निर्माण कार्य सुरु नभएपछि स्थानीय अन्योलमा परेका छन्।
गाउँपालिकाले उक्त सडक विस्तार योजनाको कामका लागि जय बिष्णु बिल्डर प्रालि, त्रिबेणीसँग भ्याटसहित ९७ लाख ४९ हजार ४७३ रुपैयाँ ३९ पैसामा सम्झौता गरेको थियो। २०८२ माघ ७ गते सम्झौता भएको उक्त योजनाको काम २०८२ जेठ ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ।
गाउँपालिका र लुम्बिनी प्रदेश सरकार को समपुरक लागत साझेदारीमा सञ्चालन हुने उक्त योजनाअन्तर्गत यस आर्थिक वर्षमा करिब ४०० मिटर लम्बाइ र ६ मिटर चौडाइमा सडक कालोपत्र गर्ने तथा सडकको दायाँ–बायाँ दुबै तर्फ नाली निर्माण गर्ने योजना रहेको थियो।
सडक फराकिलो हुने आशामा स्थानीयवासीले सडक किनारमा रहेका आफ्ना घरटहरा समेत भत्काइसकेका छन्। तर निर्माण कम्पनीले हालसम्म काम सुरु नगर्दा स्थानीयवासी आक्रोशित बनेका छन्।
स्थानीयका अनुसार सडक विस्तारको नाममा धेरैले आफ्ना निजी संरचना हटाए पनि अहिले सडकको अवस्था जस्ताको त्यस्तै छ। वर्षायाम सुरु भएसँगै सडक हिलोमय बनेको छ भने आवतजावतमा समेत समस्या बढ्दै गएको उनीहरूको गुनासो छ।
काममा ढिलाइ भएपछि गाउँपालिकाले निर्माण कम्पनीलाई तीन पटकसम्म पत्राचार गरिसकेको जनाएको छ। तर पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम अघि नबढाएको स्रोतले जनाएको छ।तर हालसम्म उक्त योजनाको १० प्रतिशत पनि काम सम्पन्न हुन नसकेको स्रोतले जनाएको छ।