Connect with us
Kapilvast Forest

गौतमबुद्ध विमानस्थल: उडान नहुँदा खर्च धान्नै मुस्किल

२०८३, ३१ असार बुधबारमा प्रकाशित

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल योजनाअनुरूप सञ्चालनमा आएको भए अहिले अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनहरू भरिभराउ हुन्थे। यात्रु आवागमनले विमानस्थल मात्रै होइन, भैरहवा सहर नै गुल्जार हुन्थ्यो तर अवस्था ठिक उल्टो छ।

२०७१ माघमा शिलान्यास भई २०७९ जेठ २ गते उद्घाटन गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आक्कलझुक्कल भइरहेका अन्तर्राष्ट्रिय उडान पनि गत चैतदेखि ठप्प छन्। उडान नहुँदा अन्तर्राष्ट्रिय टर्मिलन भवनका आगमन र बहिर्गमन कक्ष सुनसान छन्। चार न्यारोबडी र एक वाइडबडी गरी पाँच जहाज पार्किङ गर्न मिल्ने विमानस्थल एप्रोन रित्तै छ।

ट्याक्सी वे पनि खाली छ। अन्तर्राष्ट्रिय उडान नहुँदा नागरिक उड्ययन प्राधिकरण, भन्सार, अध्यागमन र सुरक्षाका कर्मचारी फुर्सदिला छन्।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि निजी क्षेत्रले पनि पर्यटन व्यवसाय फस्टाउने विश्वासमा अर्बौंको लगानी गरेको थियो। उडान नहुँदा लगानी डुब्न थालेको व्यवसायी बताउँछन्। उनीहरू निरास छन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ‘नाटा’ लुम्बिनीका पूर्वअध्यक्ष विष्णु शर्माले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदा पर्यटन उद्योग विस्तारमा गरिएको अर्बौंको लगानी डुब्न लागेको बताए। ४० अर्ब रुपैयाँको लगानीमा बनेको विमानस्थल पूर्ण सञ्चालनमा नआउँदा निर्माणका लागि लिइएको ऋण र ब्याजको भार थपिँदै गएको छ।

नाफा त परको कुरा विमानस्थल सञ्चालन खर्च धान्न पनि मुस्किल भइरहेको सरकारी अधिकारी बताउँछन्।

विमानस्थलका प्रवक्ता कुमार सुजाखूले आन्तरिक उडानबाट सञ्चालन खर्च धानिएको भए पनि लगानी उठाउने दिशामा अगाडि बढ्न नसकेको बताए। उनका अनुसार चालु आर्थिक वर्षको असार १० गतेसम्म आम्दानी १९ करोड ४२ लाख रुपैयाँ छ। यो अवधिको सञ्चालन खर्च १५ करोड १४ लाख रुपैयाँ छ। कर्मचारीको सेवासुविधाबाहेकको खर्च हो यो। ‘कर्मचारीको सेवासुविधासहितको खर्च जोड्ने हो भने यो विमानस्थल घाटामा देखिन्छ,’ सुजाखूले भने।

अर्बौं रुपैयाँ लगानी भएको विमानस्थलको यो आम्दानी गणनायोग्य नै नरहेको उनले बताए। विमानस्थलबाट पछिल्लो पटक गत चैत ११ गते एयर एसियाले व्यावसायिक उडान गरेको थियो। त्यसयता यहाँबाट अन्तर्राष्ट्रिय उडान भएको छैन। वायुसेवा कम्पनीहरूले यसपालिको समर सेड्युल नै नबनाएकाले सेप्टेम्बरसम्म अन्तर्राष्ट्रिय उडान ठप्प रहने देखिन्छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २०२२ मे ७ मा जजिरा एयरलाइन्सले पहिलो उडान गरेको थियो। विमानस्थलको उद्घाटन २०७९ जेठ २ गते भएको थियो। उद्घाटन भएको चार वर्ष भइसक्दा यहाँबाट जम्मा पाँच सय ७५ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्, त्यति नै संख्यामा अवतरण पनि। यस अवधिमा विभिन्न मुलुकबाट ३८ वटा चार्टर्ड उडान अवतरण भएका छन्। अन्तर्राष्ट्रियतर्फ ६९ हजार ३१६ यात्रुले सेवा लिएका छन्।

लगानी र पूर्वाधारका हिसाबले यो संख्या निकै न्यून भएको विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर शाहले बताए। यसअघि जजिरा एयरलाइन्स, एयर एसिया, थाई एयरवेज, नेपाल एयरलाइन्स, फ्लाई दुबई र हिमालयन एयरलाइन्सले भैरहवाबाट उडान भरेका थिए। तर ती एयरलाइन्सहरू कहिले मौसमको खराबी देखाउँदै त कहिले भारतको अवरोधको बहाना बनाउँदै काठमाडौं फर्किए।

पछिल्लो समय यात्रु संख्या कम भएकाले एयरलाइन्सहरू भैरहवाप्रति आकर्षित हुन नसकेको भन्ने चर्चा छ तर विमानस्थलका निमित्त महाप्रबन्धक शाहले अधिकांश वायुसेवा कम्पनीका नेपालस्थित जनरल सेल्स एजेन्ट, म्यानपावर कम्पनी र ठुला ट्राभल्स एजेन्सीहरू काठमाडौं केन्द्रित रहेको र उनीहरूको दबाब प्रभावका कारण यात्रुको अभाव देखिएको बताए। ‘उनीहरूले स्थानीय ट्राभल एजेन्सीसँग सहकार्य गर्ने, टिकट सहज बनाउने, भाडामा सहुलित दिएर भैरहवाका लागि बजार प्रवर्द्धन गर्नेतर्फ रुचि नै देखाएनन्, त्यसको असर यात्रु संख्यामा परेको हो,’ शाहले भने।

यसअघिका उडानमा लुम्बिनी प्रदेशबाट मात्रै होइन, सुदूर, कर्णाली र मधेस प्रदेशबाट समेत यात्रु भैरहवा आउने गरेको स्मरण गर्दै उनले जिएसए, म्यानपावर कम्पनी र ठुला ट्राभल्स एजेन्सीहरूको सहयोग हुने हो भने भैरहवाबाट यात्रुको कमी नहुने बताए। ‘सरकारले पनि उनीहरूलाई रुलिङ गर्नुपर्ने देखिन्छ,’ शाहले भने। यात्रु संख्या कम भए पनि एयरलाइन्सहरूलाई सरकारले दिएको छुट सुविधाले काठमाडौंभन्दा भैरहवाको लागत खर्च कम पर्ने उनले बताए।

अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाप्रति आकर्षित गर्न सरकारले ल्यान्डिङ शुल्क, बिसौनी शुल्क, यात्रु सेवा शुल्क, नेभिगेसन शुल्कमा शतप्रतिशत छुट दिएको छ। ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट छ। इन्धनमा प्रतिकिलोमिटर एक सय डलर छुट सुविधाको व्यवस्था छ। टिकटको भ्याट शुल्कमा छुट दिइएको छ तर यी छुट सुविधाले पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न सकिरहेको छैन। विमानस्थलका निमित्त महाप्रबन्धक शाहले नेपाल–भारतबिचको एयर सर्भिस एग्रिमेन्ट धेरै पुरानो भएकाले त्यसलाई परिमार्जन गर्दै भारतीय वायुसेवा कम्पनीहरूलाई भैरहवामा भिœयाउन सके चहलपहल फर्कने बताए। ‘भारतीय वायुसेवा कम्पनीहरूले काठमाडौंबाट दैनिक उडान गरिरहेका छन्। तिनलाई भैरहवाबाट पनि उडान गर्न सरकारले औपचारिक पलह गर्नुपर्छ,’ उनले भने।

त्यसो त विमानस्थल सञ्चालनको चार वर्ष बितिसक्दा पनि कतिपय सेवासुविधा भैरहवामा उपलब्ध छैनन्। स्वास्थ्य परीक्षणका लागि मेडिकल गर्न कतिपय अवस्थामा काठमाडौं नै जानुपर्छ। बिमा र म्यानपावर कम्पनी अहिलेसम्म भैरहवा आएका छैनन्। भिसा सेन्टरहरू स्थापनाका लागि पहल हुनुपर्ने देखिन्छ। नेपाल–भारत सीमा नाकानजिकको यो विमानस्थलका लागि भारतले सहज रूट नदिएको र आइएलएस प्रविधिको प्रयोगमा पनि समस्या रहेको अधिकारीहरू बताउँछन्। यसबारे बेलैमा भारत सरकारसँग कूटनीतिक पहल गर्नुपर्नेमा अधिकारीहरू जोड दिन्छन्।

निर्माणका क्रममा बनाइएको अध्ययन प्रतिवेदनमा बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतसँग सीधा जोड्दै पर्यटन प्रवद्र्धन र समृद्धि ल्याउने भनिएको थियो तर अहिलेसम्म पर्यटक आकर्षित गर्ने ठोस योजना न सरकारसँग छ न निजी क्षेत्रसँग, न लुम्बिनी विकास कोषसँग नै। पर्यटनविद्हरू बुद्ध जन्मस्थल लुम्बिनीसँगै यो क्षेत्रका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई समेटेर आकर्षित टुर प्याकेज बनाउन सके पर्यटकीय चहलपहल बढ्ने बताउँछन्। निजी क्षेत्र भने सरकारको नीतिगत कमजोरीकै कारण यो विमानस्थलले गति लिन नसकेको बताउँछन्।

लुम्बिनीका पर्यटन व्यवसायी अनिल श्रेष्ठले बौद्धमार्गी धेरै भएका मुलुकहरूसँग लुम्बिनीको कनेक्टिभिटी बढाएर बाह्य पर्यटक भिœयाउन राज्यबाटै नीतिगत पहल हुनुपर्ने बताए। रोजगारीका लागि बिदेसिने र घर फर्कने यात्रुका भरमा यो विमानस्थल चल्न नसक्ने भन्दै उनले सरकार र निजी क्षेत्र मिलेर ठोस योजना सहित अगाडि बढ्नुपर्नेमा जोड दिए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu