सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था राजपत्रमा
काठमाडौं । सरकारले संघीय संसद्का सदस्यहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था राजपत्रमा प्रकाशित गरेको छ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार नेपाल राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार संघीय संसद्का सदस्यहरूले राजपत्राङ्कित तृतीय श्रेणी (रा.प. तृतीय) को एक जना स्वकीय सचिव राख्न पाउनेछन्।
यस्तै, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले राजपत्राङ्कित प्रथम श्रेणी (रा.प.प्र.) सरह का एक जना प्रमुख स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएको छ। उनीहरूले यसबाहेक एक–एक जना द्वितीय श्रेणी र तृतीय श्रेणी का स्वकीय सचिवसमेत नियुक्त गर्न सक्नेछन्।
राजपत्रमा विपक्षी दलका नेता, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, प्रमुख सचेतकहरू तथा संसदीय समितिका सभापतिले पनि द्वितीय श्रेणी का स्वकीय सचिव राख्न पाउने व्यवस्था लागू गरिएको उल्लेख छ।
स्वकीय सचिवालयमा नियुक्त कर्मचारीले सम्बन्धित पदको सुरु स्केलअनुसारको तलब मात्र पाउने व्यवस्था गरिएको छ। साथै, ऐनबमोजिम प्राप्त हुने पारिश्रमिक सम्बन्धित कर्मचारीको बैंक खातामार्फत उपलब्ध गराइने व्यवस्था पनि राजपत्रमा समावेश गरिएको छ।