लुम्बिनीका गन्तव्य प्रवर्द्वन गर्न पर्यटन व्यवसायी एकजुट
भैरहवा – लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न र पर्यटन व्यवसायीकाे हकहितमा काम गर्न लुम्बिनी प्रदेशका पर्यटन व्यवसायी एकजुट बनेका छन् । सबै व्यवसायी मिलेर प्रदेशका १२ जिल्ला समेटेर पर्यटन प्रवर्द्धन गर्न पहिलोपटक होटल संघ नेपाल, लुम्बिनी प्रदेश तदर्थ समिति गठन गरिएको छ ।
प्रदेशका जिल्लास्थित पर्यटन गन्तव्य पहिचान गरेर राष्ट्रिय र अन्तर्राष्टिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार राति बुटवलमा आयोजित कार्यक्रममा तदर्थ समिति घोषणा गरिएको थियो ।
रुपन्देहीका स्थापित पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठको अध्यक्षतामा गठित तदर्थ समितिको बरिष्ठ उपाध्यक्ष बुटवलका प्रवीणबहादुर पाठक, प्रथम उपाध्यक्ष भैरहवाका हरिबहादुर थापा, द्धितीय उपाध्यक्ष बुटवलका अनिलप्रसाद श्रेष्ठ, महासचिवमा टेकनाथ बस्याल रहेका छन् ।
समितिको कोषाध्यक्षमाम सुशान्त त्रिपाठी, सचिवमा दिलीप गौचन र सदस्यमा प्रणदा दिक्षित, दाङबाट ओविन्द्र महारा, पाल्पाबाट धिरेन प्रधान र कमल पौडेल, नेपालगन्जबाट गिरीराज पाण्डे, कपिलवस्तुबाट लक्ष्मण भण्डारी, दुर्गा बस्याल, बर्दियाबाट पदमबिर थापा र भैरहवाबाट निर्मल श्रेष्ठ रहेका छन् ।
।
प्रमुख सल्लाहाकारमा महेन्द्रनारायण श्रेष्ठ र गोपाल राना रहेका छन् ।
प्रदेशका सिमावर्ती ६ जिल्लाका स्थल नाकाबाट भारत र तेस्रो मुलुकबाट पर्यटन भित्रिने गरेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीलाई लक्षित गरेर भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छ । यहाँका सिमावर्ती सहरमा तारे होटल र क्यासिनो सञ्चालनको लहर छ ।
पहाडी जिल्ला हिल स्टेशनका रुपमा विकास भइरहेका छन् । तदर्थ समितिका अध्यक्ष श्रेष्ठले पर्यटनका हिसावले प्रचुर सम्भावना बोकेको प्रदेशका गन्तव्यलाई व्यवस्थित गरेर स्वदेश र विदेशमा प्रवद्र्धन गर्नका लागि प्रदेशका पर्यटन व्यवसायी एकजुट बनेको बताए ।
नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेलले व्यावसायिक एकता नहुँदा अहिलेसम्म बुद्ध जन्मस्थल लुम्बिनीबाट लाभ लिन नसकिएको बताए । ‘विभाजित भएर होइन, जुटेर पर्यटन प्रवद्र्धन गर्नुपर्छ,’उनले भने, ‘समग्र पर्यटन क्षेत्रमा जोश कायम गर्नपनि व्यावसायीबीच एकता आवश्यक परेको हो ।’
अहिले निजी क्षेत्रको मुहार मलिन देख्दा चिन्ता लाग्ने गरेको उल्लेख गर्दै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि एक जुट भएर अगाडि बढ्न आग्रह गरे ।
पर्यटन विकास परिषद लुम्बिनीकी कार्यकारी निर्देशक शारदा बस्यालले प्रदेश भित्रका विविधतापूर्ण गन्तव्य जोडेर प्याकेज बनाएर पर्यटन प्रवद्र्धन गर्न जरुरी रहेको बताइन । ‘पर्यटन पूर्वाधारसँगैं हस्पिटालिटीमापनि सुधार जरुरी छ,’उनले भनिन, ‘लुम्बिनीका गन्तव्यकका कथा बताउन सकिरहेका छैनौं । सुरुमा गन्तव्यबारे जानकारी राखौं र पर्यटकलाई कथा बेचौं ।’ उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठ पर्यटनको विकास नभई आर्थिक विकास नहुने बताए । ‘हामी भारत र चीनको बीचमा छौं,’उनले भने, ‘ती दुई मुलुकको हरेक नितिले हाम्रो पर्यटनमा प्रभाव पार्छ, त्यसैले सोच विचार गरेर अगाडि बढ्नुपर्छ ।’
यहाँका नाका हुँदैं भारतीय पर्यटक मुक्तिनाथ पुगेपनि लुम्बिनी सुनसान हुनु चिन्ताको विषय भएको उनले बताए । होटल संघ नेपालका केन्द्रिय सदस्य गोपाल रानाले मुलुकको समृद्धिका लागि मूल आधार कृषि उपजको खपत गर्ने क्षेत्र पर्यटन भएकाले यसमा युवाहरु आकर्षित भइरहेको बताए । ‘विदेश गएरपनि धेरै जब पाउने पर्यटन क्षेत्रमै हो,’उनले भने, ‘यहाँको अनुभवले विदेशमा पनि सघाउछ ।’ लुम्बिनी प्रदेशमा अनुपम प्राकृतिक र सांस्कृतिक सम्पदा पाएको र प्रत्येक जिल्ला विविधताले पूर्ण रहेको उनले बताए । ‘यो तदर्थ समितिले लुम्बिनीबाट पर्यटन के हो भनेर देखाउने छ,’उनले भने, ‘लुम्बिनी प्रदेशलाई पर्यटनबाट समृद्धि हाँसिल गराउने गरि योजना बनाउनुस ।’
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी भुपेन्द्रबहादुर खत्रीले पर्यटन क्षेत्र सुरक्षित राख्न दिनरात काम गरिरहेको बताए । प्रहरीलाई प्रविधियुक्त बनाएर होटल हब बनिरहेको रुपन्देहीमा सुरक्षा व्यवस्था मजबुत तुल्याउन प्रयास गरिरहेको उनले बताए । ‘प्रहरीलाई प्रविधियुक्त बनाउन निजी क्षेत्रको पनि सहयोग जरुरी छ,’उनले भने, ‘त्यसका लागि प्रदेश र स्थानीय सरकारले पनि हातेमालो गर्नुभएको छ ।’
सिद्वार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले लुम्बिनी र भारतकाे उत्तर प्रदेशबीच पर्यटकीय सम्बन्ध बिस्तार गरिनुपर्नेमा जाेड दिएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्रीशीत भेट गरेर प्रदेशका गन्तव्यबारे जानकारी गराउन र पर्यटक आगमन सहज तुल्याउन भूमिका खेल्न उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीशीत अनुराेध गरे ।
मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका पर्यटकीय गन्तव्यमा पर्यटकको बसाई लम्ब्याउन सुविधा सम्पन्न होटल सञ्चालन आवश्यक रहेको बताए । नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्दै निजी क्षेत्रलाई लगानी विस्तार गर्न पनि उनले आग्रह गरे । तदर्थ समिति गठन तथा घोषणा कार्यक्रममा उनले पर्यटक आएनन् भनेर गुनासो मात्र गरेर नहुने, बरु आएका पर्यटकलाई गुणस्तरीय सेवा र सुविधा उपलब्ध गराएर धेरै दिनसम्म बसाई लम्ब्याउन सक्नुपर्ने जोड दिए । प्रदेश भित्र रहेका विभिन्न पर्यटकीय क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण र सञ्चालनले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाई थियो । ुम्बिनी प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । भैरहवा र रुपन्देहीका व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनको माग गरिरहेको उल्लेख गर्दै सुरक्षा निकायसँग समन्वय गरी २४ सै घण्टा होटल व्यवसाय सञ्चालन गर्न सकिने वातावरण तयार गर्न प्रदेश सरकार सकारात्मक रहेको जानकारी दिए ।