हिमालमा बाढी आए, तराईलाई दुख्नुपर्छ : बब्बु
न्युजसेन्टर नेपाल-
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का युवानेता हसमत अली (बब्बु) ले प्राकृतिक विपत्तिको समयमा सबै नेपाली एकजुट भएर पुनर्निर्माण तथा राहत कार्यमा जुट्नुपर्ने बताउनुभएको छ।
रसुवामा आएको दैविक प्रकोप तथा महाविपत्तिको समयमा भूगोलका आधारमा विभाजित नभई एकअर्काको दुःखमा साथ दिनुपर्ने उहाँको भनाइ छ। “हिमालमा बाढी आए तराईलाई दुख्नुपर्छ,” बब्बुले भन्नुभयो, “हिमाल, पहाड र तराईका नागरिकबीचको सम्बन्ध नै नेपालीपनको बलियो आधार हो।”
बब्बुले विपत्तिको समयमा युवाहरूले अग्रसरता लिएर उद्धार, राहत तथा पुनर्निर्माणका काममा आफ्नो क्षमता र स्रोतअनुसार योगदान गर्नुपर्ने बताउनुभयो। महाविपत्तिमा सरकारको मात्रै भर नपरी नागरिक समाज, युवा, सामाजिक संघसंस्था तथा राजनीतिक दलहरू समेत एकजुट भएर सहयोग गर्नुपर्ने उहाँको भनाइ छ।
बब्बुले विपत्तिका बेला सहयोगको नाममा सामाजिक सञ्जालमा फोटो तथा प्रचार सामग्री पोस्ट गर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाउनुभएको छ। पीडितलाई वास्तविक सहयोग पुग्नेभन्दा प्रचारमा केन्द्रित गतिविधि बढ्नु दुःखद् भएको उहाँले बताउनुभयो।
सहयोगका नाममा गलत क्रियाकलाप मौलाउँदै गएको भन्दै बब्बुले त्यसतर्फ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो। विपत्तिका बेला संकलन हुने राहत तथा सहयोग पारदर्शी रूपमा परिचालन गरी वास्तविक पीडितसम्म पुर्याउन प्रभावकारी अनुगमन आवश्यक रहेको उहाँको भनाइ छ।
उहाँले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडालाई साझा राष्ट्रिय पीडाका रूपमा लिएर सबै नेपालीले मानवीय भावनाका साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ।