रास्वपाबाट महाराजगन्जको मेयरमा बब्बुको चर्चा
न्युज सेन्टर नेपाल-
कपिलवस्तुकोढ़ा महाराजगन्ज नगरपालिकाको विकास र समृद्धिका लागि आफू अघि सरेको मेयर पदका उम्मेदवार हसमत अली ‘बब्बु’ले बताएका छन् ।
महाराजगन्ज नगरपालिका–२ निवासी बब्बु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट मेयर पदको उम्मेदवार बन्ने चर्चा पछिल्लो समय चुलिएको छ ।
नगरपालिकाको विकासका लागि नयाँ सोच, प्रभावकारी योजना र जवाफदेही नेतृत्व आवश्यक रहेको बताउँदै बब्बुले महाराजगन्जलाई व्यवस्थित, समृद्ध र नागरिकमैत्री नगरपालिका बनाउने उद्देश्यसहित आफू अघि बढेको बताएका छन् ।
स्थानीयस्तरमा युवाको सहभागिता, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार विकास तथा सुशासनका विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बब्बुको धारणा रहेको छ ।
नगरवासीको आवश्यकता र समस्यालाई नजिकबाट बुझेर विकासको स्पष्ट योजना अघि बढाउने उनको भनाइ छ ।
महाराजगन्ज–२ मा बसोबास गर्दै आएका बब्बु पछिल्लो समय राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय हुँदै आएका छन् । रास्वपाबाट आगामी स्थानीय तह निर्वाचनमा मेयर पदका लागि उनको नाम चर्चामा आएपछि स्थानीय राजनीतिक वृत्तमा समेत चासो बढेको छ ।
यद्यपि, रास्वपाले उनको उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्न बाँकी रहेको अवस्थामा बब्बुको उम्मेदवारीबारेको चर्चा भने स्थानीय तहमा तीव्र बनेको छ ।
उम्मेदवारी औपचारिक रूपमा टुंगो लागेमा महाराजगन्जको स्थानीय चुनावी प्रतिस्पर्धामा नयाँ राजनीतिक समीकरण बन्न सक्ने देखिएको छ ।