Connect with us
Kapilvast Forest

शुक्रबारदेखि भारी वर्षा , सावधानी अपनाउन आग्रह

२०८३, ६ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा आगामी बुधबारदेखि वर्षाको गतिविधि बढ्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि भने देशका विभिन्न स्थानमा हुरीसहित ठूलो वर्षा हुने सम्भावना छ।

महाशाखाले सोमबार विशेष मौसमी बुलेटिन जारी गर्दै असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने जनाएको छ। यी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान छ।

यस्तै, मधेस तथा कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका केही स्थानमा समेत भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले बंगालको खाडीको मध्य भाग आसपास रहेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा छ। यसको प्रभाव बुधबारदेखि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने अनुमान गरिएको छ।

मौसम प्रणालीका कारण देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

ठूलो वर्षाको सम्भावनासँगै बाढी, पहिरो, भूक्षय र गेग्रान बहावको जोखिम समेत बढ्ने महाशाखाले जनाएको छ। सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्भावित मौसमका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। धानबाली भित्र्याउने समय भएकाले किसानलाई मौसमको अवस्था हेरेर तथा कृषि विज्ञको सुझावअनुसार काम गर्न आग्रह गरिएको छ।

यसैगरी, हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने सम्भावना रहेकाले पर्वतारोही तथा हिमाली क्षेत्रमा जाने व्यक्तिलाई पनि उच्च सतर्कता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj