कृष्णनगरमा १८ लाख ३० हजारको सामान बरामद
कपिलवस्तु-
कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ हरिगवाबाट प्रहरीले करिब १८ लाख ३० हजार रुपैयाँ बराबरको ल्यापटप डिस्प्ले प्यानल र मोटरसाइकल बरामद गरेको छ । बरामद सामान छाडेर संलग्न व्यक्ति फरार भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमाण्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले बुधबार बिहान करिब २ बजे हरिगवा क्षेत्रमा गस्ती गर्ने क्रममा प्रहरीको गाडी देखेपछि बाटो नजिकै बेवारिसे अवस्थामा छाडिएको मोटरसाइकल र सामान फेला पारेको हो ।
प्रहरीले बरामद गरेको सामानमा Laptop Display Screen Panel २ सय ४० थान रहेका छन् । प्रति थान करिब ७ हजार रुपैयाँका दरले यसको अनुमानित मूल्य १६ लाख ८० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
यस्तै, UP 55 AD 5621 नम्बरको मोटरसाइकलको अनुमानित मूल्य करिब १ लाख ५० हजार रुपैयाँ रहेको छ । मोटरसाइकलसहित बरामद सामानको कुल अनुमानित मूल्य १८ लाख ३० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
बरामद सामान र मोटरसाइकललाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कृष्णनगरमा ल्याइएको थियो । घटनामा संलग्न व्यक्ति भने हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आवश्यक कारबाहीका लागि बरामद सामान तथा मोटरसाइकल बुधबार भन्सार कार्यालय कृष्णनगर, कपिलवस्तुमा पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।