Connect with us
Kapilvast Forest

वाणिज्य बैंकहरूको नाफा ४५ प्रतिशतले वृद्धि, नबिल बैंक शीर्ष स्थानमा

२०८३, १७ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल १९ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरूको नाफा ४५.४६ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । यस वर्ष बैंकहरूको नाफा करिब ६ अर्ब रुपैयाँले बढेको देखिन्छ ।

पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । नबिलले तीन महिनामा दुई अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, ग्लोबल आइएमई बैंकले दुई अर्ब ३१ करोड र राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ६५ करोड रुपैयाँ नाफा कमाउँदै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् ।

यस अवधिमा २० मध्ये १० बैंकले एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । उल्लेख्य नाफा वृद्धि गर्ने बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अगाडि देखिएको छ । बैंकको नाफा गत वर्षको ४५ करोड पाँच लाख रुपैयाँबाट बढेर एक अर्ब १८ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको नाफा ५८ करोड ८७ लाखबाट बढेर एक अर्ब ६४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । कृषि विकास बैंकले पनि गत वर्षको ५७ करोड ३८ लाख रुपैयाँ नाफालाई बढाएर एक अर्ब नौ करोड २३ लाख रुपैयाँ पुर्‍याएको छ ।

सिटिजन्स बैंकले भने गत वर्ष २२ करोड चार लाख रुपैयाँ घाटा व्यहोरेकोमा यस वर्ष १० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाउँदै सुधार गरेको छ ।

यद्यपि, सबै बैंकको नाफा बढेको छैन । प्राइम कमर्सियल, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड र एनएमबि बैंकको नाफा गत वर्षको तुलनामा घटेको छ । यसले बैंकहरूबीच नाफा आर्जनको अवस्था समान नरहेको देखाएको छ ।