Connect with us
Kapilvast Forest

बुटवलमा सुकुम्बासीलाई घडेरी दिने भन्दै लाखौं असुली

२०७८, २१ चैत्र सोमबारमा प्रकाशित

बटुवल -बुटवलको सुकुम्बासी वस्तीमा टोल विकास संस्थाले भाडामा बस्दै आएका सर्वसाधारणलाई घडेरी दिने आश्वासन दिएर रकम असुली गरी फर्जी लालपुर्जा बाँडेको पाइएको छ ।

बुटवल उपमहानगरपालिका–११ को हात्तीसुड टोल विकास संस्थाले टोलमा बस्दै आएका व्यक्तिलाई घडेरी दिने भन्दै केही वर्षयता लाखौं रुपैयाँ असुलेको भन्दै स्थानीय बासिन्दाले छानबिन गरी कारवाही गर्न माग गरेका छन् ।

 

टोल विकास संस्थाका पदाधिकारीले सार्वजनिक जग्गामा घडेरी दिने भन्दै रकम लिएको, सुकुम्बासीलाई घडेरी नदिएको बरु आफू र आफन्तको नाममा घर बनाइ भाडामा लगाउने गरेको पीडितको आरोप छ । टोल विकास संस्थाले गैरकानुनी काम ढाकछोपका लागि राजनीतिक दल, प्रहरी र कतिपय पत्रकारसमेत प्रयोग गरेको भन्दै पीडितले आइतबार पत्रकार सम्मेलन गरी छानबिन र कारवाहीको माग गरेका छन् ।

शुक्रबारे चोकमा बस्दै आएकी राधा बस्नेतले जग्गा पाउने आश्वासनमा तीन वर्षअघि टोल विकास संस्थालाई तीन लाख ४० हजार रुपैयाँ बुझाएको तर जग्गा नपाएको बताइन् ।

 

त्यतिबेला संस्थाको अध्यक्ष रवि गुरुङ थिए । ‘१५ हात मोहडा र ३५ हात पिछाड भएको जग्गा दिन्छौं भनेपछि चार वर्षअघि तीन लाख ४० हजार रुपैयाँ दिएकी हुँ’, बस्नेतले भनिन्, ‘कि जग्गा दिनुप¥यो नभए पैसा फिर्ता दिनुपर्‍यो ।’

अर्की पीडित लक्ष्मी राईले जग्गा दिने आश्वासन दिएर टोल विकास संस्थाले ७२ हजार रुपैयाँ लिएको तर १२ वर्षसम्म जग्गा नदिएको बताइन् । ‘पैसा बुझाएको वर्षौं भयो, जग्गा कहाँ दिनुहुन्छ भनेर सोध्न जाँदा दिन्छौं, नआत्तिनुस् भनेर टार्दै आएका छन्’, राईले भनिन्, ‘यसरी कीर्ते काम गर्नेमाथि सरकारले छानबिन गरेर कारवाही गरोस् ।’

टोल विकास संस्थाकै कोषाध्यक्ष सरस्वती गलामीले अध्यक्षलगायतका पदाधिकारीले सर्वसाधारणबाट रकम लिँदा रसिद नदिने र नगद कारोबार गरेर रकम हिनामिना गरेको बताइन् । ‘ज्याला मजदुरी गरेर छाक टार्ने सोझा मान्छेहरुबाट रकम असुलेर मनपरी गरिएको छ, छानबिन गरेर कारवाही हुनुपर्छ’ उनले भनिन् ।

संस्थाका सल्लाहकार सुनील न्यौपानेले टोल विकास संस्थाका पदाधिकारीले झण्डै १८ लाख रुपैयाँ गैर कानूनी ढंगले असुलेर हिनामिना गरेको आरोप लगाए । ‘सुकुम्बासी परिवारलाई कमाइ खाने भाँडो बनाइएको छ’, न्यौपाने भन्छन्, ‘ठूला दलहरु भोट घट्ला भनेर तैं चुप मै चुप छन् ।’

स्थानीय बसन्त गौचनले विभिन्न दल र विप्लवको नाम बेचेर टोल विकास संस्थाका पदाधिकारीले निमुखा सर्वसाधारणमाथि दादागिरी गरेको बताए ।

‘दिनहुँ मजदुरी गरेर जीविका चलाउने मान्छेहरु काम छाडेर न्यायका लागि धाउन नसक्दा यहाँ ठूलो ठगी र अन्याय भएको छ’, गौचनले भने, ‘संस्थामाथि छानबिन अघि बढाउनुपर्छ, थुप्रै ठगीका घटना बाहिर आउँछन्’ ।’

टोल विकास संस्थाका सचिव राजु रसाइलीसहित पदाधिकारी र प्रहरीले गैरकानुनी ढंगले सार्वजनिक जग्गाबाट घडेडी लिएर घर बनाउने र बिक्री गर्ने गरेको न्यौपानेको माग छ । उनले यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने बताए ।

टोल विकास संस्थाका अध्यक्ष भीमसेन श्रेष्ठले भूमिहीनलाई सरकारले जग्गा बाँड्ने प्रकृया रहेकाले बसोबास गरेको प्रमाणका लागि टोल विकास संस्थाले बनाएको लालपुर्जा बाँडेको स्वीकारे । उनले रकम हिनामिनाबारे संस्थाको छिट्टै हुने साधारणसभामा निर्णय हुने बताए ।

जनता समाजवादी पार्टी बुटवल उपमहानगरपालिका समितिका अध्यक्ष बामदेव भुसालले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे ।

‘यसरी गैरकानूनी ढंगले रकम असुली र फर्जी लालपुर्जा बाँड्दा पनि ठूला दलहरुले भोटको राजनीतिका लागि थाहा नपाए झैं गर्नु गम्भीर विषय हो, हाम्रो पार्टीमा पनि निवेदन आएकाले हामीले छानबिनको माग गर्दछौं ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu