भण्डारीको नेतृत्वको संयुक्त समाजवादी मोर्चा एकीकृत समाजवादीमा
काठमाडौ – नेकपा क्रान्तिकारी माओवादीबाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपाएकीकृत समाजवादीमा समाहित भएको छ ।
नेकपा क्रान्तिकारी माओवादी परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादीमा समाहित भएको हो ।

बिहीबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव बेदुराम भुसालले मोर्चाका अध्यक्ष भण्डारीसहित दजनौँलाई एकीकृत समाजवादीमा प्रवेश गराउनु भएको हो ।
पार्टी प्रवेश गर्दै मोर्चाका अध्यक्ष भण्डारीले आफुहरुको तत्कालित पार्टीले निर्वाचनलाई वहिष्कार, उपयोग र फेरी वहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले सो पार्टी परित्याग गरि संयुक्त समाजवादी मोर्चा गठन गरिएकोमा एकीकृत समाजवादीसँग आफुहरु सिद्धान्त मिलेकाले प्रवेश गरीएको बताउनुभयो । एकीकृत समाजवादीको शान्तिपूर्ण ढंगले समाजवादी क्रान्तितर्फ अघि बढ्ने लक्ष्यमा आफुहरुको योगदान हुने उहाँले बताउनुभयो ।
उहाँले आफ्नो मोर्चामार्फत् देशभरका ३५ वर्ष मुनिका २ सयभन्दा बढी नेता, कार्यकर्ता एकीकृत समाजवादीमा समाहित भएको बताउनुभयो ।