काठमाडौंको मेयरमा सृजना सिंह र सुरज बैद्यबीच प्रतिस्पर्धा !
काठमाडौं -चुनावी तालमेल गर्दा पार्टीको कोटामा पर्ने–नपर्ने प्रष्ट नभएपनि नेपाली कांग्रेसका तल्ला समितिहरूबाट भटाभट उम्मेदवार सिफारिस भइरहेका छन् ।
तर देशकै राजधानी रहेको काठमाडौं महानगर कांग्रेसले पाउने निश्चित जस्तै हुँदा पनि महानगर समितिले उम्मेदवारको नाम सिफारिस गरेको छैन ।
त्यसको कारण हो, सृजना सिंहको नाम एकल रूपमा सिफारिस गर्ने पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाहना । सिंहको काठमाडौं जिल्लासँगै महानगर समितिमा दबदबा छ ।
काठमाडौंमा राम्रो पकड रहेको र आफूलाई दोस्रोपटक सभापति बन्न साथ दिएका सिंहको सहमति विना प्रधानमन्त्री शेरबहादुर देउवाले समेत मेयरको उम्मेदवार टुंगो लगाउने संकेत गरेका छैनन् ।
कांग्रेस नेताहरुका अनुसार, देउवाको रोजाइ भने आफू निकट नेता तीर्थराम डंगोल हुन् । तर पूर्वमहामन्त्री सिंहकी पत्नी सृजनाले दाबी गरेपछि देउवा हच्किएका छन् । भेट्न आउने नेताहरुलाई सभापति देउवाले ‘प्रकाशमान आएर झगडा गर्छ’ भन्ने गरेको एक नेता सुनाउँछन् ।
पार्टीभित्र दबाव बढाउन र सर्वसहमतिको सन्देश दिन पनि सिंह निकट नेताहरू महानगर समितिबाट सृजनाको नाम एकल रुपमा सिफारिस गर्न चाहिरहेका छन् । स्रोतका अनुसार, नगर समितिका पदाधिकारीलाई त्यही दबाव छ ।
तर २०७४ को चुनावमा उपमेयर जितेकी हरिप्रभा खड्गी, कांग्रेस महानगर समितिका रहेका वडा नम्बर २५ का वडाध्यक्ष निलकाजी शाक्य र नगर समितिका सचिव सुशन वैद्य पनि मेयरका आकांक्षी भएकाले उम्मेदवार सिफारिसमा अलमल छ ।
नगर समितिबाट एकल वा सामूहिक जसरी नाम सिफारिस भएपनि कांग्रेसभित्रको शक्ति समीकरणले पनि सृजनाले टिकट पाउने सम्भावना बढी छ । गएको मंसिरमा सम्पन्न कांग्रेस महाधिवेशनमा सभापतिका निम्ति भएको दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सहयोग गरेका थिए । सिंहको प्यानलबाट उम्मेदवार रहेका विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भएका थिए ।
तर सिंहले आफ्नो उम्मेदवारी सार्वजनिक भने गरेकी छैनन् । आन्तरिक भेटघाट र छलफल चाहिँ तीव्र बनाएको निकतवर्तीहरू बताउँछन् । मेयरको उम्मेदवार बन्नुपर्ने भन्दै सोमबार नेविसंघको एउटा समूहले सिंहलाई भेटेको छ ।
एमालेबाट सुरज वैद्य ?
सत्ता गठबन्धनबाट सृजना उम्मेदवार बने मुख्य प्रतिस्पर्धा नेकपा एमालेका उम्मेद्वारसँग हुनेछ । तर एमालेले पनि उम्मेदवार टुंग्याउन सकेको छैन । महानगर कमिटीले अहिलेका मेयर विद्यासुन्दर शाक्य, पूर्व मेयर केशव स्थापित, महानगर कमिटी अध्यक्ष निर्मल देउला र नेतृ इन्दिरा पन्तको नाम सिफारिस गरेको छ ।
त्यो सिफारिस जिल्ला कमिटीबाट अगाडि बढेको छैन । सर्वसम्मतिबाट उम्मेदवार टुंग्याउने प्रयत्न चलिरहेकाले सिफारिस अगाडि नबढाइएको एक नेता बताउँछन् । तर छलफल लम्बिदा सर्वसम्मति नभएर आकांक्षी संख्या भने थपिएको छ । काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामवीर मानन्धर मेयरको उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् ।
आकांक्षीमध्ये शाक्य र स्थापितको दावेदारी बलियो देखिएको एमाले स्रोत बताउँछ । ०४९ र ०५१ को स्थानीय चुनावमा काठमाडौं–२१ को वडाध्यक्ष जितेका शाक्य २०७४ को चुनावमा मेयर बनेका हुन् । त्यसबेला पनि शाक्य भन्दा बलिया नेता आकांक्षी थिए । पार्टीका तत्कालीन सचिव योगेश भट्टराईको समेत चर्चा थियो ।
तर काठमाडौं जिल्ला सचिव रहेका शाक्य उम्मेदवार मात्र भए, मेयरमा निर्वाचित बने । शाक्यले टिकट पाउनुमा उनको राजनीतिक पृष्ठभूमिसँगै माथिल्लो तहका नेताहरुसँगको निकटता समेत कारण थियो । अहिले पनि शाक्यलाई मेयर दोहोर्याउन एमालेका शीर्ष नेताहरू नै लागिपरेका छन् ।
२०७४ मा शाक्यलाई मेयर जिताउन चुनावी कमाण्ड सम्हालेका शंकर पोखरेल अहिले पार्टी महासचिव छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुजिता शाक्य लगायत पनि विद्यासुन्दरलाई नै दोहोर्याउन अध्यक्ष केपी शर्मा ओलीमाथि दबाव बढाइरहेका छन् ।