Connect with us
Kapilvast Forest

भारतमा पनि बच्चा चोरको अफवाह, कुटिए चार जना साधु

२०७९, २९ भाद्र बुधबारमा प्रकाशित

नेपालमा बच्चा चोरहरू आएको अफवाह फैलिरहेका बेला छिमेकी भारतमा पनि त्यस्तै अफवाहका कारण चार जना साधुहरूमाथि आक्रमण भएको छ। एनडिटिभीका अनुसार मंगलबार महाराष्ट्रको सांगली जिल्लामा उत्तर प्रदेशबाट गएका चार जना साधुहरूलाई बच्चा चोरको आरोपमा भीडले कुटपिट गरेको हो।

ती साधुहरूले एक जना बच्चालाई पन्धानपुर जाने बाटो सोधेका थिए। केही समयपछि स्थानीयले एउटा पसलको अगाडि उनीहरूलाई लठ्ठीले हानेका थिए।उक्त घटनाको भिडिओ अहिले भाइरल भएको छ।
प्रहरीले घटनाबारे औपचारिक उजुरी नआएको भए पनि भिडिओको अनुसन्धान सुरू भएको बताएको छ। नेपालको तराई/ मधेसका विभिन्न जिल्लामा केही दिनयता बच्चा चोर आएको अफवाह फैलिएको छ।

सामाजिक सञ्जाल फेसबुकमा विभिन्न ठाउँमा बच्चा चोर फेला परेको भन्दै अफवाह फैलाइएको छ। बच्चा चोरकै आरोपमा गत शनिबार सिरहामा एउटा भीडले दुई जना पारलैंगिक महिलामाथि कुटपिट नै गरेको छ। दिउँसो ४ बजे लहानस्थित लक्ष्मीपुरमा दुई जना पारलैंगिक महिलामाथि कुटपिट भएको थियो। मुन्नी किन्नर र चन्दा किन्नर बस चढ्न लाग्दै थिए। एक्कासी दुई-चार जना पुरूष आएर यिनीहरूले बच्चा चोरेको भन्दै आरोप लगाएर निर्घात कुटपिट गरेका हुन्।

उनीहरूमाथि थप व्यक्तिले पनि निर्घात कुटपिट गरेको निल हिरा समाजले जनाएको छ। प्रहरीलाई बुझाएपछि प्रहरीले पनि कुटपिट गरेको समाजको दाबी छ।

कुटपिटबाट पीडित पारलैंगिक महिलाहरूको शरीरका विभिन्न भागमा निलडाम र चोट लागेको छ। ‘हामी बच्चा चोर होइनौं भन्दाभन्दै पनि आम मानिस र प्रहरीबाट नै यस्ता मानव अधिकार हनन र हिंसा हुने गरेका छन्,’ समाजले विज्ञप्ति जारी गर्दै भनेको छ।

नेपाल प्रहरीले भने अहिलेसम्म बच्चा चोरीको घटना कहीँ पनि नभएको भन्दै अफवाह फैलाउनेलाई कानुनअनुसार कारबाही गर्ने बताएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu