Connect with us
Kapilvast Forest

बागमती प्रदेशमा ४ दिनभित्र सरकार गठन गर्न आह्वान

२०७९, २१ पुष बिहीबारमा प्रकाशित

बागमती प्रदेशमा सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नको लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए ।

मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएकोले प्रदेश प्रमुख कार्यालयबाट उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान भएको हो ।

११० सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन चाहिन्छ । केन्द्रमा भएको सत्ता समीकरण परिवर्तनले सबैभन्दा ठूलो दल भएर पनि कांग्रेससहितको सरकार बन्ने सम्भावना देखिन्न ।

पछिल्लो चर्चाअनुसार बागमती प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपासहितको सरकार गठनको तयारी भैरहेको छ ।

मुख्यमन्त्रीमा तीनै दलका संसदीय दलका नेताहरु एमालेका जगन्नाथ थपलिया, माओवादी केन्द्रका शालिकराम जमकट्टेल र राप्रपाका उद्धब थापाले दाबी गरिरहेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu