मुलुकको समस्या समाधान केन्द्रित राजनीति गरौँ : अध्यक्ष ओली
काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समस्या समाधानमा राजनीतिक दल केन्द्रित हुनुपर्ने बताउनुभएको छ । पार्टी स्कुल विभागद्वारा बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित अनुशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
कतिपय राजनीतिक दललाई आफ्नो राजनीतिक मिसन पनि जानकारी नरहेको भन्दै अध्यक्ष ओलीले जनता, समाज र देशको समस्या पहिचान गरी त्यसको समाधानमा राजनीतिक दल तल्लीन रहन आवश्यक रहेको बताउनुभयो । जनताको आवश्यकता पूरा गर्नु नै दलको काम भएको भन्दै उहाँले जनताको समस्या समाधानका लागि पहिले समस्याको पहिचान गर्न आवश्यक रहेको चर्चा गर्नुभयो ।
द्वन्द्वको घाउ पुर्न शान्ति प्रक्रियालाई टुङ्गोमा पुग्न आवश्यक भएको बताउँदै अध्यक्ष ओलीले समस्या समाधानमा दलका नेताहरू केन्द्रित भएमा समस्या समाधान हुने बताउनुभयो । पद र स्वार्थका लागि राजनीति कोही कसैले गर्न नहुने उहाँले चर्चा गर्नुभयो । विचारै नभएको, राजनीतिक मिसन नभएका दल चलाउनुको अर्थ नभएको पनि उहाँले चर्चा गर्नुभयो ।