वसन्तपञ्चमीमा राष्ट्रपतिद्वारा शुभकामना
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिनुभएको छ। सन्देशमा वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाप्रति शुभकामना व्यक्त गरिएको छ।
राष्ट्रपति भण्डारीले यस दिनमा गरिने वसन्त श्रवण र सरस्वती पूजा औपचारिकता मात्र नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर पनि हो भन्दै यस पर्वका माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवं संवद्र्धनका साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।