अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध
तालिबानद्वारा सञ्चालित उच्च शिक्षा मन्त्रालयले अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध गरेको छ। उच्च शिक्षा मन्त्रालयले शनिबार निजी विश्वविद्यालयहरूलाई पत्र लेख्दै महिला विद्यार्थीहरूलाई विश्वविद्यालयको प्रवेश परीक्षामा बस्न नदिन निर्देशन दिएको छ।
यो सँगै अफगानिस्तानमा छात्राहरू उच्च शिक्षबाट बञ्चित हुनेछन्। उच्च शिक्षा मन्त्रालयका प्रवक्ता जियाउल्लाह हाश्मीका अनुसार सरकारको पत्रमा कुनै पनि अफगानी छात्राले स्नातक, मास्टर र डक्टरेट तहको लागि हुने प्रवेश परीक्षा दिन पाउँदैनन्।
अर्को सूचना नआएसम्म छात्राहरूको भर्ना गर्न नपाइने र यो निर्णय उल्लंघन गर्नेलाई कडा कानुनी कारबाही गरिने तालिवान सरकारद्वारा पठाइएको पत्रमा भनिएको छ।तालिबान सञ्चालित सरकारका उच्च शिक्षा मन्त्री निदा मोहम्मद नादिमले विश्वविद्यालयहरूमा लिङ्गको मिश्रणलाई रोक्न प्रतिबन्ध आवश्यक रहेको दाबी गरेका छन्। केही विषयहरू इस्लामिक सिद्धान्त विपरित भएकाले छात्रालाई विश्वविद्यालय प्रवेशमा रोक लगाइएको उनले स्पष्ट पारे।