लुम्बिनीमा शून्य पोलिथिन अभियान सुरु
भैरहवा- रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शून्य पोलोथिन अभियान सुरु भएको छ । पोलिथिनजन्य फोहोरले लुम्बिनी भ्रमणमा आउने पर्यटक र वातावरणमा नकारात्मक असर परेकाले नगरलाई सफा र स्वच्छ बनाउन अभियान सुरु गरिएको नगरपालिकाले जानकारी गरेको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको आर्थिक सहयोगमा ग्रिनरी नेपाल संस्थाले सञ्चालन गरेको यो अभियान ६ महिनासम्म चल्नेछ । आइतबार अभियानको शुभारम्भ गर्दै रुपन्देही क्षेत्र ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीयस्थल भएकाले यो ठाउँ स्वच्छ र सरसफाइयुक्त हुनुपर्ने बताउनुभयो ।
सांसद घिमिरेले यसअघि आफू नगरप्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई शून्य खुला पोलिथिनमुक्त नगर बनाउन एक लाख बढी नगरवासीलाई सरसफाइ अभियानमा सहभागी गराएको उल्लेख गर्दै व्यापक जनसहभागिताले मात्र अभियान सफल हुने स्पष्ट पार्नुभयो । लुम्बिनीपछि रुपन्देही क्षेत्र ५ का अन्य स्थानीय तहलाई समेत शून्य पोलोथिन बनाउन पहल गर्ने स्पष्ट पार्नुभयो ।