कसैले नियमन नगरेको सहकारी क्षेत्रमा बढ्यो अविश्वास
पछिल्लो समय आफूहरू ठगिएको भन्दै विभिन्न सहकारीका बचतकर्ताहरू सहकारी विभाग धाइरहेका छन्। विभागका अनुसार काठमाडौंका कान्तिपुर बचत तथा ऋण सहकारी संस्था गौतम श्री सहकारी र बुटवलको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था जस्ता ठूला सहकारीविरूद्ध उजुरी परेको छ।
त्यस्तै काठमाडौंकै सन्ध्या बचत तथा ऋण सहकारीजस्ता केही साना सहकारीविरूद्ध पनि उजुरी बोकेर बचतकर्ताहरू विभाग आइरहेका छन्। पछिल्लो समय सहकारीहरू समस्यामा पर्ने घटना बढिरहेको छ। नियममा नचल्ने सहकारीहरू यसरी डुब्ने, सञ्चालकहरू फरार हुने क्रम बढेपछि नियममै चलिरहेका सहकारीहरूलाई पनि अहिले समस्या परिरहेको छ।
सहकारी संस्था प्रति बचतकर्ताको अविश्वास बढ्दै गएकाले पनि समस्या बढेको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले बताए। पछिल्लो समय कोरोनाले पनि यो समस्या चर्काएको उनको भनाइ छ।
कोभिडका कारण पनि सहकारीहरूको नियमित किस्ता असुलीमा प्रभाव पर्यो कँडेलले भने यसैबीच नियममा नचलिरहेका सहकारीहरू झन् समस्यामा परे। यसले गर्दा सहकारीहरूमा अविश्वास बढ्यो बचत फिर्ता माग्नेहरू बढे। एकाएक पैसा फिर्ता माग्दा सहकारीहरूमा थप तरलता समस्या पर्यो।
सामान्यतया वित्तीय संस्थाहरूले सर्वसाधारणहरूबाट एक सय रूपैयाँ बचत उठाए भने कम्तीमा १५ देखि २० रूपैयाँ जगेडा राखेर ८० देखि ८५ प्रतिशतसम्म ऋण लगानी गर्छन्। बचत रकम मात्र नभएर वित्तीय संस्थाको सेयर सदस्यले हाल्ने रकम (चुक्ता पुँजी) लगायत पनि जोडेर माथि उदाहरणमा दिइएकै अनुपातमा (८० देखि ८५ प्रतिशतसम्म) ऋण लगानी गरेका हुन्छन्।
यस्ता संस्थाहरू ठूलाठूला आर्थिक कारोबार गर्ने हैसियतमा पुगिसकेका छन्। तर प्रत्यक्ष रूपमा कुनै निकायले सुक्ष्म नियमन गरेका छैनन्। यस कारण सहकारीहरूप्रति अविश्वास बढेको हो।