महिलाले नै धानेकि छन् विकास
डडेल्धुरा- डडेल्धुराका विकास निर्माणका काममा उपभोक्ता समितिदेखि कामदारसम्म महिलाहरू मात्रै हुने गरेका छन् । गाउँमा पुरुष नै नरहेपछि उपभोक्ता समितिदेखि निर्माण कार्यमा महिलाहरू मात्रै हुने गरेका हुन् ।
गाउँघरमा भइरहेका प्रायः सबै समिति सदस्य र कामदार महिलाहरू मात्रै भेटिन्छन् । पुरुष रोजगारी र अध्ययनका लागि घरबाहिर रहेपछि गाउँमा महिलाहरू मात्रै रहेका छन् ।
स्थानीय तहले विनियोजन गरेका विकास निर्माणका काम र प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा प्रायः महिलाहरू छनोट भएका छन् ।
अमरगढी नगरपालिका–७ को भट्गाउँमा बाटो बनाउन नगरपालिकाबाट १० लाख रुपियाँ विनियोजन भएको थियो । बाटो बनाउने काम अहिले महिलाहरूले नै गरिरहेका छन् । दक्ष जनशक्तिमा दुई जना पुरुष छन् ।
वडाध्यक्ष खड्क बोहराले भन्नुभयो बाँकी काम गर्ने ४० जना महिला छन् । उपभोक्ता समितिमा पनि अध्यक्षलगायत सबै महिला मात्रै रहेको उहाँले बताउनुभयो । गाउँमा खासै पुरुषहरू छैनन् भट्गाउँ बाटो निर्माण समिति अध्यक्ष सरस्वती भण्डारीले भन्नुभयो घरमा भएका पुरुषहरू पनि कोही व्यापारमा व्यस्त रहनुभएको छ भने कोही नोकरीमै हुनुहुन्छ ।
गाउँमा महिलाहरूले नै तरकारी खेती गरिरहेका छन् । बिहान–बेलुकी घरको काम र तरकारी बारीमा काम गरे पनि दिउँसो प्रायः काम हुँदैन । त्यसकारण महिलाहरूले नै समिति बनाई बाटो निर्माणको काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।
बाटो निर्माणका लागि दुई जना पुरुष दक्ष जनशक्तिका रूपमा काम गरिरहेको उहाँले बताउनुभयो । समितिमा सचिव, कोषाध्यक्षलगायत सदस्यहरू समेत महिलाहरू नै रहेको उहाँले बताउनुभयो ।