Connect with us
Kapilvast Forest

गर्मी अझै चार-पाँच दिन घट्दैन : माैसमविद्

२०८०, २६ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडाै- केही दिनदेखि भइरहेको उखरमाउलो गर्मी तत्काल घट्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् रोजन लामिछानेका अनुसार तत्काल ठूलो वर्षाको सम्भावना नरहेकाले अझै चार/पाँच दिन गर्मी यस्तै रहने छ ।

तराईका धेरैजसो जिल्लामा चार/पाँच दिन नै तातो हावा लू चल्ने अनुमान छ । पहाडी केही जिल्लामा पनि ठूलो पानी पर्ने सम्भावना नरहेको तर एक/दुई ठाउँमा भने फाट्टफुट्ट पानी पर्न सक्ने उहाँले बताउनुभयो ।

फाट्टफुट्ट वर्षाले तत्काललाई केही शीतल दिए पनि तापक्रम नघट्ने भएकाले गर्मी फेरि उस्तै हुने माैसमविद् लामिछानेले बताउनुभयो । यसपालि मनसुन पनि ढिलो गरी भित्रिने सम्भावना रहेकाले गर्मीको अवधि लम्बिने उहाँको भनाइ छ ।

तराईका धेरैजसो ठाउँमा लगातार एक हप्तादेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस छ । कतिपय ठाउँमा अधिकतम तापक्रम ४० डिग्री नकटे पनि न्यूनतम तापक्रम र तातो हावा चल्दा उखरमाउलो गर्मी छ।