आलम प्रकरण : तथ्य बंग्याउन चलखेल
काठमाडौँ — जिल्ला अदालत रौतहटमा कांग्रेस सांसद मोहम्मद आफताब आलमलगायतविरुद्ध विभिन्न ३ वटा मुद्दा दायर भएपछि दुई जना साक्षीले मुद्दा नै प्रभावित गर्ने प्रयासमा इजलासमै निवेदन दिए ।
रौतहट विस्फोटमा मारिएका ओसी अख्तरकी श्रीमती आमना खातुनले आफ्नो श्रीमान् विस्फोटमा मारिएको नभई वैदेशिक रोजगारीमा गएपछि नफर्किएको भनी इजलासमा निवेदन दिइन् । अनि मुद्दाका अर्का साक्षी गौरीशंकर रामले आफू विस्फोटमा नभई स्टोभ पड्किएर घाइते भएको भनी इजलासमा निवेदन दिए ।
रौतहटको राजपुरमा पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन बम विस्फोट भएको र त्यसका मृतक तथा घाइतेलाई आलमको समूहले जिउँदै इँटाभट्टामा जलाएको प्रहरीको आरोप छ । आलम पक्षधर भने ‘विस्फोट नै नभएको’ भन्ने आफ्नो दाबीलाई स्थापित गर्न प्रयास गरिरहेका देखिन्छन् ।
‘विस्फोट भएको भनी जति पनि प्रमाण पेस भएका छन्,’ महान्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘आलम पक्षले जुनसुकै हतकण्डा अपनाएर भए पनि ती प्रमाणलाई नष्ट गर्न चाहन्छ ।’ साक्षीहरूलाई बयान फेर्न दिइएको दबाब त्यसकै उदाहरण भएको स्रोतले बतायो ।
तथ्य बंग्याउने खेल
सर्वोच्च अदालतको फैसला अन्तिम मानिन्छ । फैसलाले ठहर गरेका तथ्यहरू अकाट्य मानिन्छन् । बम विस्फोटपछि आलमविरुद्ध जाहेरी दर्ता नभएको अवस्थामा पीडितहरूले दायर गरेको मुद्दाको फैसलामा सर्वोच्च अदालतले नै रौतहटको राजपुरमा बम विस्फोट भएको ठहर गरिसकेको छ । फैसलामा भनिएको थियो, ‘प्रतिवादीले घटनामा आफ्नो संलग्नतामा इन्कारी बयान गरे पनि मृतकहरूका बारेमा केही बताउन नसकेको समेतबाट २०६४ चैत २७ गते राति बम पड्किएको र हत्या गरिएका व्यक्तिहरूको सम्बन्धमा यथार्थ छानबिन गर्नुपर्ने अवस्था देखियो ।’ महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि निवेदन दिँदासमेत सर्वोच्च अदालतले अनुमति नदिएकाले उक्त फैसला अन्तिम भएर बसेको छ ।आजको कान्तिपुरमा समाचार छ ।