बामदेव र माधवलाई प्रधानमन्त्री ओलीको यस्तो ‘अफर’
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा सामेल गर्न राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेका छन् ।
ओलीबाट गौतमलाई यस्तो ‘अफर’ आए पनि यसअघि प्रस्तावित उपाध्यक्ष पदलाई स्थायी समितिले अझै अनुमोदन गरेको छैन ।
मन्त्रिपरिषद् पुनर्गठनको विषय चर्चामा रहेका बेला नेता गौतमलाई राष्ट्रिय सभामार्फत सांसद बनाएर उपप्रधानमन्त्रीका रूपमा भित्र्याउन खोजिएको बालुवाटार स्रोतले बताएको छ । एक नेताका अनुसार प्रधानमन्त्री ओलीले गौतमलाई यस्तो प्रस्ताव गर्नुअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए ।
‘दुई अध्यक्षबीचको छलफलपछि यस्तो प्रस्ताव आएको हो,’ गौतम निकट ती नेताले भने, ‘राष्ट्रिय सभामा पुगेपछि सरकारमा जाने बाटो खुल्छ ।’
तर गौतमले संविधान संशोधन गरेरै भए पनि आफूलाई प्रधानमन्त्री बन्नसमेत सहज हुने बाटो बनाइदिन आग्रह गरेका छन् । ‘नेता गौतमले संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खुला गर्ने भए मात्र आफू राष्ट्रिय सभामा आउने बताउनुभएको छ,’ ती नेताले भने । ‘राष्ट्रिय सभाबाट आउँदा प्रधानमन्त्री बन्न मिल्ने प्रावधान छैन ।
पटकपटक उपप्रधानमन्त्री भइसकें, मलाई संसद्मा ल्याउने हो भने संविधान संशोधन गरेर प्रधानमन्त्री हुने बाटो खोलिदिनोस्,’ गौतमको भनाइ उद्धृत गर्दै उनले भने ।आजको कान्तिपुरमा समाचार छ ।