Connect with us
Kapilvast Forest

कर्मचारीले अख्तियारको २२ बुँदे सुझाव देखाउँदा आजित छन् गण्डकीका मुख्यमन्त्री

२०८०, १० मंसिर आईतवारमा प्रकाशित

सिँचाइतर्फ विशेष अनुदानतर्फ संघीय सरकारबाट आएको बजेट बाँडफाँट गरी कार्यान्वयनको प्रक्रियामा लैजान गण्डकीका अर्थ सचिवलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्देशन दिए । अर्थ सचिव बलराम रिज्यालले संघीय सरकारको स्वीकृतिबेगर त्यसो गर्न नसकिने भन्दैै फाइल संघमा पठाए तर संघले जवाफ दिएन ।

अहिले गण्डकीको मन्त्रिपरिषदबाट निर्णय गरेर कार्यान्वयन गर्नका निम्ति अर्थमन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा फाइल पुगेकोे छ । तर, यही कारणले योेजना कार्यान्वयनमै ढिलाइ भएको भन्दै मुख्यमन्त्री रुष्ट छन् । सचिव भने ढिलै होस् तर हर निर्णय गर्दा आफू जोगिएर गर्न चाहन्छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेटमा सुशासन कायम गर्न भन्दै गत मध्य कात्तिकमा पठाएको २२ बुँदे सुझावअनुसार काम गर्नुपर्ने भन्दै प्रदेशका सचिवले मुख्यमन्त्रीले नै भने पनि हत्तपत्त फाइल अगाडि बढाउँदैनन् ।

प्रदेश विनियोजन ऐनअनुसार पहिलो त्रैमासिकभित्र रकमान्तर गर्न पाइँदैन । अख्तियारको २२ बुँदे निर्देशनमा रकमान्तर नै गर्न हुने र अति आवश्यक परे दोस्रो र तेस्रो चौमासिकमा मात्रै गर्न सुझाव दिएको छ । यस विषयले पनि बजेट कार्यान्वयमै अप्ठेरो पारेको भन्दै मुख्यममन्त्री र मन्त्री खुसी छैनन् ।

बजेट निकासा गर्ने अर्थ मन्त्रालयमात्रै होइन, अन्य मन्त्रालयका सचिवहरुले पनि अख्तियारको २२ बुँदे देखाउँदै काम नै नगरिदिएको गुनासो अरु मन्त्रीहरुको पनि छ । तर, सचिवहरुले भने निर्णय गर्दा प्रक्रिया नपुगे जुनसुकै बेला फन्दामा परिने डर आफूहरुलाई भएकाले जोखिम नलिने बताउँछन् । ‘मुख्यमन्त्री, मन्त्रीले हामीले बोलेेपछि भइहाल्छ भन्ने सोच्नुहुन्छ तर प्रक्रिया नपुगेर अख्तियारको सुझावविपरीत भयो भने बाँधिनुपर्ने त हामी हो,’ एक सचिवले भने, ‘जुन-जुन शीर्षकमा बजेट छुट्टएिको छ कार्यान्वयन गर्न र विधि नियम पुर्याएर काम गर्न मन्त्रीहरुलाई कसैले रोक्दैन ।’

काम नहुनुको दोष कर्मचारीलाई

विकास निर्माण र सुशासनमा सुधार ल्याउने बताउँदै आएका मुख्यमन्त्री पाण्डेलाई अब जनताले प्रगति सोध्न थालेपछि कर्मचारीले कामै नगरिदिएको गुनासो गर्न थालेका छन् । अख्तियारको २२ बुँदे निर्देशन देखाउँदै कर्मचारीले निर्णय नै नगरिदिँदा पूर्वाधारको ठेक्का प्रक्रिया र बजेट कार्यान्वयनमा समेत प्रगति हुन नसकिरहेको भनाइ मुख्यमन्त्री पाण्डेको छ ।

सबै मन्त्रालयका कर्मचारीले अख्तियारको २२ बुँदे निर्देशन टेबलमा राखेका छन् । मुख्यमन्त्रीको सचिवालय भन्छ, ‘केही निर्णय गरौं भन्यो, फाइल पठायो त्यही निर्देशन देखाउँदै कर्मचारी उम्किन्छन् । काम गर्न सकिएन भनेर मुख्यमन्त्री आजित हुनुभाछ ।’

मुख्यमन्त्री पाण्डेले शनिबार त यो विषयमा गण्डकी प्रदेशका सबै सांसद र सचिवहरुलाई साक्षी राखेर मुखैै खोलेर कुरा राखे । संघीय सरकारबाट आएका सचिव, प्रमुख सचिवलाई कान खोलेेरै सुन्न आग्रह गर्दै अख्तियारको निर्देशन पूरै कार्यान्वयन गर्ने हो भने पुँजीगत खर्च नै नहुने बताए । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले गरेको दोस्रो पञ्चवषर्ीय योजना तथा आयोजना बैंकबारे अन्तक्रिर्या कार्यक्रममा मुख्यमन्त्री पाण्डेेले केही निर्णय गर्नुपरे अख्तियारकै निर्देशन देखाउने गरेको सुनाए ।

‘मैले हरेक पटक निर्णय गर्ने क्रममा पहिले ऐन कानुन देखाउनुहुन्थ्यो, अहिले अख्तियारको २२ बुँदे देखाउनुहुन्छ । उदाहरण नै सचिव मधु मरासिनीलाई देखाउनुहुन्छ । सर मधु मरासिनी पर्नुभाछ, यो पढ्नुस् त,’ मुख्यमन्त्री पाण्डेले भने, ‘अहिले सचिवज्यूहरुले के भन्नुहुन्छ भने मुख्यमन्त्रीजीलाई २२ बुँदेको कुरा गर्यो भने त रिस उठिहाल्छ तर के गर्नु यसलाई नाघेर जान सकिँदैन ।’

नेशनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका सचिव मधु मरासिनी ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारको निर्देशन पनि बाइपास गरेर जान नसकिने भन्दै मुख्यमन्त्री पाण्डेले कर्मचारीलाई काममा कसरी सहजीकरण गर्ने भनेर सोच्न आग्रह गरे । ‘अहिले समग्र मुलुककै पुँजीगत खर्च ७० प्रतिशत पुर्याउन गाह्रो भाछ, यसरी त कति प्रतिशत पुग्छ ?,’ मुख्यमन्त्री पाण्डेले भने, ‘अख्तियारको निर्देशन टोटल्ली बाइपास गरेर जान पनि सकिँदैन । यो कुरा माननीयले पनि बुझ्नुपर्छ । भोलि हामी पनि बाँधिएर जानुपर्छ । तर, कर्मचारीले यसलाई कसरी सहजीकरण गर्ने भन्ने सोच्नुपर्यो ।’

अहिले कर्मचारीले जतिबेला पनि मधु मरासिनीलाई देखाउने गरेको मुख्यमन्त्री पाण्डेले दोहोर्याए । ‘यसो कुरा गर्यो कि यही २२ बुँदेको कुरा आउँछ, यही मधु मरासिनीको कुरा आउँछ । त्यसैले यो २२ बुँदे तपाईंहरुको अगाडि पनि हल्लाउन लिएर आएको,’ सांसद र कर्मचारीलाई मुख्यमन्त्री पाण्डेले भने, ‘सबै कुरा यसैमा टेक्ने हो भने मलाई लाग्छ, २५ प्रतिशत पनि काम गर्न सक्दैनौं ।’

संघको ५ लाखमुनिको योजना कार्यान्वयन नगर्ने मुख्यमन्त्री पाण्डेको भनाइ

गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधारतर्फ ३० लाख र सिँचाइ तथा खानेपानीतर्फ कम्तिमा १० लाखका योजना बनाएको छ । मर्मत तथा त्योभन्दा कम बजेेटलेे पनि सकिनेे ठाउँमा मात्रै कम रकम हालेको उसको भनाइ छ । तर, संघीय सरकारलेे २/४ लाखका पनि योजना पठाएकोे र त्यो कार्यान्वयन गर्न नसकिने मुख्यमन्त्री पाण्डेले बताएका छन् ।

संघ सरकारबाट आएका ५ लाख र त्योभन्दा तलका करिब १ सय आयोजना रहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । यी योजना कार्यान्वयन गर्दिनँ भनेर राष्ट्रिय समन्वय परिषदको बैठकमा प्रधानमन्त्री, अर्थमन्त्री हुँदाकै अवस्थामा भनेको मुख्यमन्त्री पाण्डेले बताए ।

‘मैले अहिले पनि भन्याछु, त्यो म गर्दिनँ । उहाँहरुले नै पठाउनुभएको समपूरक आयोजनामा झण्डै १ अर्बभन्दा बढ्ता हामीले पेमेन्ट गर्नुपर्ने अवस्था छ । तर, उहाँहरुले के निर्णय गर्नुभएको छ भने, यो पैसा संघबाट पठाउन सकिँदैन,’ मुख्यमन्त्री पाण्डेले भने, ‘अब या त उहाँहरुले रकमान्तर गर्न दिनुपर्यो र २/५ लाखको योजनाको बजेट हामीले त्यसमा हाल्छौं । होइन भने यो संघ सरकारको योजना हो, संघ सरकारमै फिर्ता लैजाऊ भन्नुपर्छ । त्योभन्दा अर्को उपाय रहँदैन ।’

संघ सरकारले ठेक्का लगाउने, काम गराउने, क्रोनिक बनाउने, काम गर्न नसक्ने अवस्थामा पुगेको योेजना प्रदेशलाई दिइएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । ती योजना कार्यान्वयन पनि भइसकेर सम्पन्न भइसक्दा पैसा दिन सक्दैनौं भनेर संघ सरकारले भनेको पाण्डेले बताए । ‘त्यसको दायित्व प्रदेश सरकारले बोक्न सक्ने अवस्थामा छैन,’ पाण्डेले भने ।

अख्तियारको २२ बुँदे आउनुभन्दा अगाडिदेखि नै आफूले आयोजना बैंक बनाउने भनेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । आयोजना बैंक बनाउँदा अहिले भइरहेको योजना छान्ने प्रक्रियाको ब्रेक हुने मुख्यमन्त्री पाण्डेले दाबी गरे । ‘कतिपय माननीयलाई के लाग्या होला भने, २ लाख, ४ लाख, १० लाख जनताकोमा जाँदा माग्छन्, दिनुपर्ने छ । तर, जनतालाई पनि बुझाउँदा त बुझ्दारहेछन् नि । १ लाख, २ लाख, ४ लाख हामीले भवनमा हाल्थ्यौं, यो वर्ष भवनमा पैसा हाल्दैनौं भन्दा जनताले बुझे नि त,’ मुख्यमन्त्री पाण्डेले भने, ‘कतिपयले त उहाँ अर्कोपाली चुनाव लड्नुहुन्छ कि हुँदैन पनि भन्नुभाछ । म अर्कोपाली पनि चुनाव लडेर आउँछु । प्रदेशको चाहिँ म लडि्दनँ ।’

अब संघले सरकारको कानुनै नआए पनि प्रदेश अगाडि बढ्नेे मुख्यममन्त्री पाण्डेको दाबी छ । प्रदेशले बनाइसकेको कानुनमा टेकेर प्रदेशले काम गनर्ेे उनको भनाइ थियो । ‘हामीले जति पनि कानुन बनाएका छौं अब संघ सरकारको हवाला दिने होइन, प्रदेश सरकारको हवाला दिने हो,’ मुख्यमन्त्री पाण्डेेले भने, ‘अस्ती एउटा चिठी आएको रहेछ, वनको हाकिमबाट फर्मान जारी गर्नुभएछ । हामीले त प्रदेशको कानुन बनाइसक्यौं । २०८० सालमा प्रदेशको वन ऐन आइसक्यो, अब संघको २०७६ सालको कानुनको हवाला दिने होइन ।’

अब योजनाको वर्गीकरण पनि हुनैपर्ने उनको भनाइ थियो । संघ, प्रदेश र स्थानीय तहले कुन लेबलसम्मको योजना कार्यान्वयन गर्ने भनेर वर्गीकरण गर्न संघ सरकारलाई पटक पटक भनेको मुख्यमन्त्री पाण्डेले बताए ।

अहिले धेरै चुनौति छ : पूर्वमुख्यमन्त्री अधिकारी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीले जनताको खुन-पसिनाले प्रदेश सरकारसम्म आइपुगेको बताउँदै प्रदेशको जिम्मा अहिले आफूहरुको भएको जिकीर गरे । योजना बनाउँदा गम्भीर छलफल गरेर बनाउनुपर्ने उनको भनाइ थियो । ‘अहिले हामीमाथि साझा प्रश्न उठेको छ । साना-साना कुरामा माननीय मन्त्रीहरु फराकिलो हुन सक्नुभएन भने तपाईं चढेको डुंगामा म पनि छु, डुंगामा प्वाल पार्दा म पनि डुब्छु,’ अधिकारीले भने, ‘अहिले धेरै चुनौति छ ।’

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले अब संघसँग कानुन बाझिन्छ भनेर बस्न नहुने बताए । ‘संघीय ऐनसँग बाझियो भनेर भनिदिने कसले हो ? अदालतले भन्नुपर्छ । अदालतमा जाउन्जेल, हामीले फड्को त मार्न सक्छौं नि,’ चुमानले भने, ‘आज प्रदेशमा आउने करोडौं आम्दानी पनि अन्तै गइरहेको छ ।’

राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले प्रदेशमाथि प्रश्न उठाउने अवसर प्रदेशहरुले नै दिएको बताए । गण्डकीका सांसदहरुले मन्त्रीका खल्तीका योजनाभन्दा जनताको आवश्यकताका आधारमा योजना हाल्नुपर्ने उनले बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu