गोली लागेर प्वालैप्वाल भएको पोल
२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको पोल बेनी ल्याइँदैछ । बेनीको मङ्गलाघाट बजार छेउमा रहेको नेपाली सेनाको तत्कालीन समयमा कालीप्रसाद गण (ई) छेउमा रहेको बिजुलीको पोलमा भिडन्तको क्रममा सयौँ गोली लागी प्वाल परेको अवस्थामा थियो ।
भिडन्तका बेला क्रसफायरमा परी छिया–छिया भएको बिजुलीको उक्त पोल २०६३ सालमा ललितपुरको पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालय हाताभित्र रहेको यलमाया केन्द्रमा लगेर सुरक्षित गरिएको थियो । पछि म्याग्दीका राजनीतिक दल, अधिकारकर्मी र नागरिक अगुवाले मदन पुरस्कार पुस्तकालयका प्रतिनिधिलाई बारम्बार भेटेर पोल फिर्ता गरिदिन आग्रह गर्दैआएका थिए ।
यसअघि पनि मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले जिल्ला समन्वय समिति म्याग्दीलाई पत्र लेखी पुस्तकालयमा संरक्षित द्वन्द्वकालीन र ऐतिहासिक महत्त्व राख्ने बिजुलीको पोल बेनी लग्ने व्यवस्था मिलाउन भन्नुभएको थियो ।