हस्तकला विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकाले सरकारबाट यसको प्रवर्द्धनका लागि हस्तकला उद्योग व्यवसायमैत्री आवश्यक नीति नियम, ऐन, कानुन बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
हस्तकला दिवसको अवसरमा आयोजित २० औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगिताको बिहीबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले हस्तकला उद्योगबाट उत्पादित वस्तुहरूको बजार विस्तार देशभित्र गर्न सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सृजना गर्न आवश्यक रहेको औंल्याउनुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘हस्तकला उद्योग नेपालको उद्योग व्यापार मात्र नभई नेपालको प्राचीन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण एवम् संवर्द्धन गर्दै विश्वमा परिचित गराउने महत्त्वपूर्ण क्षेत्र हो । यसका साथै हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवम् गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिन्छ । यस उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने अर्कोतिर हाम्रो आर्थिक, सामाजिकलगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पुर्याउन सकिन्छ भन्ने मलाई लागेको छ ।’’
राष्ट्रपति पौडेलले नेपाली हस्तकलाका धेरैजसो सामग्री हाम्रा विभिन्न जातजातिको पुर्ख्यौली पेशा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सजिलै यसको नक्कल हुन नसक्ने भएकाले यस प्रकारका उत्पादनको प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘प्रतिलिपि अधिकार सुरक्षित गर्दै नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समयसापेक्ष विकास गर्न आवश्यक छ ।’’
प्रत्यक्ष–अप्रत्यक्ष गरी झण्डै ११ लाख व्यक्तिलाई रोजगारी दिएको यो क्षेत्र अर्थव्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको हुँदा यसको उत्पादनले मुलुकको पहिचान विश्वरभर फैलाउन योगदान पुर्याउने पनि राष्ट्रपति पौडेलको भनाइ थियो ।