Connect with us
Kapilvast Forest

आफन्तबाटै महिला असुरक्षित

२०८०, २९ मंसिर शुक्रबारमा प्रकाशित

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ निवासी ३५ वर्षीय बाबुले १३ वर्षीय छोरीलाई घरमै बलात्कार गरेको भन्दै पीडित पक्षले गत चैत ३० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । पीडित पक्षले दिएको उजुरी अनुसार डरधम्की देखाउँदै एक वर्षदेखि बाबुले लगातार बलात्कार गर्ने गरेको उल्लेख छ । पीडितको वैशाख २ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा स्वास्थ्य परीक्षण हुँदा बलात्कार भएको पुष्टि भयो । उजुरीका आधारमा प्रहरीले वैशाख २ गते नै आरोपित बाबुलाई पक्राउ गरी हाडनाता करणीसम्बन्धी मुद्दा चलाएकामा जिल्ला अदालतले वैशाख २८ गते पुर्पक्षका लागि थुनामा पठाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २०२३ को जनवरीदेखि हालसम्म तयार गरेको तथ्याङ्क अनुसार जिल्लामा बलात्कार तथा बलात्कार प्रयासका १२१ वटा घटना भएका छन् ।

जुन गत वर्षको तुलनामा जिल्लामा भएका बलात्कारका दोब्बर घटना भए । इन्सेकले एक वर्षको अवधिमा तयार गरेका २९२ वटा मानव अधिकार उल्लङ्घनका घटनामध्ये १२१ वटा बलात्कारजन्य घटना रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि जयनारायण पुनले जानकारी दिनुभएको छ । जिल्ला प्रतिनिधि पुनका अनुसार गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएका बलात्कारजन्य घटनामा यस वर्ष मात्रै ८९ वटा घटना छन् । यसै गरी २६ वटा यौन दुव्र्यवहार, पाँच वटा बलात्कार प्रयास र एउटा अप्राकृतिक मैथुनको घटना इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

इन्सेकका जिल्ला प्रतिनिधि पुनका अनुसार बलात्कारजन्य घटनामा एक बालकसहित १३१ जना महिला पीडित भएका छन् । जसमा ७९ जना बालिका छन् । उहाँले बलात्कारजन्य घटनामा एक बालकसहित १३१ जना पीडक रहेको र तीमध्ये धेरै न्याय प्रक्रियामै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “इन्सेकले जिल्लामा भएका घटनाको अभिलेख तयार गर्ने गर्दछ । घटनालाई आधार बनाएर हेर्दा गत वर्षको तुलनामा यस वर्ष बलात्कारजन्य घटना वृद्धि भएका छन् ।” इन्सेकको अभिलेख अनुसार गत वर्ष जिल्लामा ५५ वटा मात्रै बलात्कारजन्य घटना भएका थिए । बलात्कारका घटनामा चार वर्षीय नाबालिकादेखि ७३ वर्षीय महिलासम्म बलात्कृत भएका छन् । बलात्कारका अधिकांश घटनामा नातेदारकै संलग्नता हुने तथ्याङ्कले देखाएको प्रतिनिधि पुनले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu