उद्घाटन र रिबन काट्ने कार्यक्रममा जादैनः मन्त्री राणा
सनिउल्ला धोबी,
लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले उदघाटन र रिबन काट्ने कार्यक्रममा नजाने बताउनुभएको छ । मन्त्री राणाले रिजल्ट आउने गरी प्रदेशको विकास गर्न मन्त्री बनेको बताउनुभयो ।
चेम्बर अफ कमर्श कपिलवस्तुले चन्द्रौटामा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री राणले आफनो कार्यकालमा प्रदेशमा रहेका उद्योग कलकारखाना तथा यातयात क्षेत्रको सुधार र विकासका लागि अहोरात्र खटिएर काम गर्ने बताउनुभयो । आफु समान्य परिवारमा जन्मीएर यहाँसम्म आएकाले यहाँहरुको सुझाव सल्लाह अनुसार काम गर्ने मन्त्री राणाले जानकारी दिनुभयो ।
चेम्बर अफ कमर्श कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले उद्योग धरायासी भएको अवस्थामा प्रदेश सरकारले उद्योगी व्यवासायीको पक्षमा राम्रो निति ल्याउन मन्त्री राणालाई अनुरोध गर्नुभयो । अध्यक्ष पोखरेलले भन्नुभयो “अहिले आर्थिक मन्दीको समयमा सबै उद्योगी मारमा रहेका छन उनीहरुलाई सरकारले सहयोग गर्नुपर्छ ।”
कार्यक्रममा शिवराज नगरपालिका पुर्व मेयर नेत्रराज अधिकारीले उद्योग र यातायात मन्त्रालयको काम चुस्तदुरुस्त रुपले अघी बढाउनु अनुरोध गर्नुभयो । सो कार्यक्रममा चेम्बर अफ कमर्श कपिलवस्तुका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।